२०८३ असार १४ गते , आईतबार

भानु पत्रकारिता पुरस्कारबाट पत्रकार मुक्ति पौडेल पुरस्कृत

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
भानु पत्रकारिता पुरस्कारबाट पत्रकार मुक्ति पौडेल पुरस्कृत

झापा । भानु पत्रकारिता पुरस्कारबाट झापाका पत्रकार मुक्ति पौडेल पुरस्कृत भएका छन् ।  आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीको अवसरमा काँकडभिट्टामा मङ्गलवार आयोजित एक कार्यक्रमकाबीच जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल पुरस्कृत भएका छन् ।
भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले पत्रकार पौडेललाई पत्रकारिताको क्षेत्रमा लामो समय काम गर्दै नेपाली साहित्य र समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको हो ।
पत्रकार पौडेललाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राम कार्की, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, पूर्व सांसद रविन कोइराला, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले नगद २१ हजार रुपैयाँ, दोसल्ला, सम्मान पत्र तथा ढाका टोपीसहित सम्मान गरेका हुन ।
कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यको क्षेत्रमा भानुभक्तले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि कार्की, पूर्व सांसद कोइराला, प्रदेश सभा सदस्य मैनाली, प्राज्ञ सदस्य सुभद्रा अर्याल, नगर प्रमुख आचार्य, नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरे तथा सञ्चालन प्रतिष्ठानका सचिव सुशील आचार्यले गरेका थिए । काँकडभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगरका साहित्यिक व्यक्तित्व, पत्रकार तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार