२०७८ जेष्ठ ३० गते , आईतवार

कोरोना कहर : सीमा बजार चौपट, व्यवसायीलाई पुरानो लयमा फर्कनै चुनौती

एकातिर कोरोनाले मरिने डर, अर्कोतिर रोजीरोटीको सवाल

कोरोना कहर : सीमा बजार चौपट, व्यवसायीलाई पुरानो लयमा फर्कनै चुनौती :: Times of Pradesh

(पार्थ मण्डल) झापा । ३३ वर्षीय कमल गणेश भारतीय नागरिक हुन्। उनी भारतीय भए पनि नेपाली भाषा प्रस्ट बोल्छन्। किनभने, उनी नेपाली विद्यालयमा पढाइसँगै यहाँकै साथीभाइसँग हुर्किएका हुन्। झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको नयाँ हाट बस्तीमा परिवारसँग बसोबास गर्दै आइरहेका गणेश सिलाई कटिङको काम गर्छन्।

नेपाल–भारतको सीमा पिलर ११२ नजिकै उनको फुसले बनेको छाप्रो जस्तो एउटा घर छ। उनको घर भारतीय भूमिमा पर्छ। भारतीय भए पनि उनी नेपालमै व्यवसाय सञ्चालन गर्दै परिवार पाल्दै आएका छन्।

उनको पसल कचनकवल ६ स्थित बनियानी बजारमा रहेको छ। उनले बनियानी बजारमा टेलर्स खोलेका छन्। तर, विडम्बना उनी भारतीय भएकाले अहिले पसल जान पाइरहेको छैन।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण भारतसँगै नेपालमा तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै सुरक्षाकर्मीले सीमा नाकामा कडाइसँगै आवतजावतमा पूर्णरूपमा बन्देज लगाएको छ।

सुरक्षाकर्मीले भारतीयलाई नेपाली भूमि प्रवेश निषेध गरेसँगै गणेश फेरि अहिले थप समस्या परेका छन्।

‘कोरोनाका कारण अघिल्लो वर्ष पनि यस्तै समस्या भोग्नुपर्‍यो,’ गणेशले थाहाकर्मीलाई भने, ‘अहिले फेरि त्यस्तै समस्या आइपर्‍यो, अब के गर्ने हो थाहा छैन।’ ‘कोरोनाले मरिने भन्ने डर एकातिर छ, भने अर्कोतिर रोजीरोटीको सवाल पनि छ,’ उनले भने, ‘अब जसो त्यसो घरमै बसेर खेतीपाती वा अन्य काम गर्नुपर्ला।’ नेपालका सशस्त्र र नेपाल प्रहरीले गाउँका कसैलाई पनि नेपाली भूमि नछिर्नु भन्दै आएको बताउँदै उनले भने, ‘कोरोनाबाट बच्न र अरूलाई पनि बचाउने हाम्रै दायित्व हो, सरकारले कोरोना महामारी रोक्न लगाएको लकडाउन र सीमा नाका बन्द जस्ता आदेश मान्नै पर्‍यो।’

त्यही गाउँका ७४ वर्षीय उपेन्द्र साह सजिलै मेची नदी तैरिएर भारतीय बजार पाठामारी किनमेलका लागि सधैँ जान्छन्। कोरोना संक्रमणको रोकथामका कारण देखाउँदै उनलाई कसैले छेकेको  छैन।  दशगजामै घर भएका साह पनि भारतीय नागरिक हुन्। उनलाई भारतीय बजारभन्दा नेपालका बजार पुग्न सजिलो हुन्छ। तर, उनी अहिले नेपाल छिर्न पाएका छैनन्।

अघिल्लो वर्ष जस्तो फेरि गाउँवासीलाई सुरक्षाकर्मीले नेपाल छिर्न रोक लगायो, साहले भने, ‘अहिले नयाँ सरकारी नाम दियो कोरोना भाइरस, पहिला यही रोगलाई हैजा र मर्की भनिन्थ्यो।’ ‘यो एउटा महामारी बिरामी हो आफूलाई थाहा छ, यसबाट बच्न हामी सीमावासी पनि सजग छौँ, उनले भने।’ यहाँ करिब ३० देखि ३५ घर भारतीय नागरिकको बसोबास रहेको स्थानीय ४५ वर्षीय विनोद साहले बताए। उनका अनुसार गाउँमा दुई वटा पसल छन्। ती पसल भारतीय भूमिमा पर्छन्।

सीमा पिलरपारि नेपाली बस्ती रहेकोले त्यहाँका बासिन्दा पनि अति आवश्यक खाद्यान्नलगायतका सामग्री खरिद गर्नु परेमा बाटोपारि भारत आउने गरेको उनले बताए।

‘कोरोना महामारीका कारण अहिले ती पसलमा नेपाली नागरिकलाई सुरक्षाकर्मीले आउन दिइरहेको छैन’ उनले भने। ११२ २ नम्बर पिलर उत्तर नेपालमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय पानालाल राजवंशीलाई कोरोना भाइरस संक्रमणको बारे प्रस्ट थाहा छैन। उनी दशगजानजिकै बस्छन्। घरबाट निस्किन साथ उनी भारत पुग्छन्। उनीसहित त्यहाँ बसोबास गर्ने नेपाली नागरिक घरबाहिर निस्किए पनि भारत नजान सुरक्षाकर्मीले आग्रह गर्दै आएका छन्।

दशगजानजिकै बस्ती हुँदा सुरक्षाकर्मीलाई चुनौती

सीमा पिलर ११२ नजिकै कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नयाँ हाट बस्ती। बस्तीको बीच–बीचमा चार वटा मझौला सीमा पिलर छन्। उत्तरपट्टि नेपाली बस्ती र दक्षिणपट्टी भारतीय बस्ती। पूर्व पट्टी बस्तीसँगै बगिरहेको मेची नदी। दुवै बस्तीलाई जोड्ने दशगजामै कच्ची सडक। सोही कच्ची सडक दुवै देशका जनताले वर्षौंदेखि प्रयोग गर्दै आइरहेका छन्।

सामान्य अवस्थामा सडक प्रयोग गर्नु ठिकै हो। तर, अहिले त्यही सडक यहाँका सुरक्षाकर्मीका लागि समस्यासँगै चुनौती बनिदिएको छ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयदेखि स्थानीय प्रशासनले भारतसँग जोडिएको खुल्‍ला सीमा नाका कडाइसँगै आवतजावतमा पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ।

नाकाबन्द गराउन निर्णयसँगै त्यहाँ रहेका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट र पाठामारी प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मी दिनरात १२२ नम्बर पिलरनजिकै ढुकेर सुरक्षा दिइरहेका छन्। तर, सुरक्षाकर्मीलाई सीमामा आवतजावत रोक्न समस्या भइरहेको छ।

११२ पिलर नजिकै भारतीय बस्ती रहेकोले त्यहाँका नागरिक अहिले पनि भारतीय बजार ओहोरदोहोर गरिरहेका छन्। उनीहरूलाई रोक्ने अधिकार नै नेपाली सुरक्षाकर्मीलाई छैन। उनीहरू सहज रुपमा मेची नदीबाटै हिँडडुल गरिरहेको देखिन्छ।

‘सो बस्तीमा बसोबास गर्ने अधिकांश व्यक्ति नातागोतामै पर्छन्,’ स्थानीय रत्नकुमार बुढाथोकीले भने, ‘भारत घरमा भएका व्यक्तिको सीमापारि नेपालमै दाजुभाइ, काका भतिज जस्ता आफन्तहरू छन्, त्यही भएर उनीहरूलाई रोक्न सुरक्षाकर्मीलाई दशगजामै समस्या हुने गरेको छ।’ ‘भारततर्फ बस्नेहरू सजिलै भारत पुगेर आउँछन्, बस्तीमा आएपछि कतिखेर नेपाल छिरेर आफन्त भेट्छन् यहाँका सुरक्षाकर्मीले थाहासमेत पाउँदैनन्, उनले भने।’

उता केचना र घेरावारि पनि उस्तै समस्या रहेको छ। बस्तीनजिकै भारतीय बजार रहेकोले नेपाली र भारतीय दुवैलाई रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई चुनौती थपिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक भक्त थापाका अनुसार बोर्डरमै सुरक्षाकर्मी तैनाथ राखिएको छ, अहिले कसैलाई पनि नेपाल प्रवेश गर्न दिइएको छैन।

‘खुल्‍ला नाका भएकोले सुरक्षाकर्मीलाई चुनौती छ, प्रहरी निरीक्षक थापाले भने, ‘सुरक्षाकर्मीहरूलाई आलोपालो गराउने बेला लुकिछिपी नेपाल प्रवेश गरिहाल्छन्, गाउँमा छिरेपछि उनीहरूलाई भेट्टाउनै गाह्रो हुन्छ।’ ‘त्यही भएर हामीले गाउँघरमा कोरोना महामारीको बारेमा जनचेतनासँगै भारतबाट आउने कसैलाई पनि गाउँमा त्यतिकै प्रवेश नगराउन अनुरोध गरिरहेका छौँ’ उनले भने।’

कोरोनाले सीमा व्यापार चौपट

झापासँग जोडिएको पश्चिम बङ्गाल र विहारका सीमावर्ती भारतीय बजारमा सीमानजिकै बसोबास गर्ने यहाँका नेपालीहरू घरायसीदेखि आवश्यक सरसामान खरिद गर्न भारत जाने गरेका छन्। तर, पछिल्लो एक वर्षयता कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि नेपालीहरू भारतीय बजार जान छाडेका छन्।

सीमावर्ती भारतीय बजारमा त्यहाँका नागरिकको पसल मात्र नभई नेपालमा बसोबास गर्नेहरूले पनि भारतमै गएर पसल तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए।

काँकडभिट्टा पारि पानीटंकी बजार, भद्रपुरमा पारि गलगलिया बजार, पाठामारी पारी ठाकुरगञ्ज बजार, केचना पारि कादोगाउँ बजार, टाघनडुब्बा पारि डिगलबैंक बजार र गौरीगञ्ज पारि फूलबारिया बजार रहेको छ।

ती बजारहरूमा किनमेलका लागि नेपालीहरू जाने गरेका छन्। तर, पछिल्लो एक वर्षयता सीमापारिका अधिकांश बजारमा कारोबार चौपट बनेको छ। सरकारले काँकडभिट्टा नाका केही समयअघि केही खुकुलो गरेपछि नेपालीहरू किनमेलका लागि भारत जान थालेका थिए। अहिले फेरि दोस्रो लहरको कोरोनाका कारण काँकडभिट्टामा कडाइ गरेपछि नेपालीहरू जान छाडेका छन्।

व्यवसायीको उठिबास

पानीटंकी बजारमा ४० प्रतिशत नेपाली नागरिकको लगानीमा व्यापार व्यवसायी सञ्चालन रहेको भद्रपुरका व्यवसायी रवि गोयलले जानकारी दिए। उनको पानीटंकी बजारमै कार तथा जिपलाई आवश्यक पर्ने मोटरपार्टसको होलसेल पसल छ। सीमा नाकामा कडाइ भएपछि उनी अहिले पानीटंकीमै बसोबास गर्न थालेका छन्।

‘पानीटंकीसहित छेउमै रहेको नक्सालवारि बजार पनि नेपाली ग्राहककै भरमा चलिरहेकोमा दुई मत नै छैन,’ व्यवसायी गोयलले भने, ‘कोरोनाका कारण विगत एक वर्षयता कतिपय व्यवसायीको उठिबास नै लागिसकेको छ, नेपाली ग्राहक आउन छाडेपछि उनीहरू पलायन हुनुपर्‍यो।’

यता, भद्रपुरका व्यवसायी शम्भु गुप्ताले गलगलिया बजारमा कपडाको पसल सञ्चालन गरेको दुई वर्ष भयो। एक वर्ष व्यापार त राम्रै चल्यो, तर विगत १३ महिनादेखि उनको पसल बन्द छ। गत चैत ११ गतेदेखि बन्द भएको भद्रपुर नाका हालसम्म नखुल्दा व्यवसायी गुप्ता मासिक रुपमा पसलको भाडा मात्र तिरिरहेका छन्।

‘मासिक भारु ४२ सय रुपैयाँ भाडा मात्रै तिरिरहेको छु,’ उनले भने, ‘कोरोनाले सीमा व्यापार चौपट नै बन्यो, बोर्डर ठप्प हुँदा नेपालीहरू गलगलिया जान छाडेपछि त्यहाँका अन्य व्यापार व्यवसाय पनि ठप्प छ।’

गुप्तासँगै भद्रपुरका मनिष महतो, मोहन महतोले पनि गलगलियामा कपडाकै पसल सञ्चालनमा ल्याएका थिए। उनीहरू पनि अहिले पसलको मासिक भाडा मात्र तिरिरहेका छन्।

यस्तै, अवस्था रह्यो भने पसल बन्द गरेर भद्रपुरमै आएर व्यवसाय गर्नुको अन्य विकल्प नरहेको व्यवसायी मनिष महतोले बताए। उता कादोगाउँ, ठाकुरगञ्ज, डिगलबैंक, फुलबारीया बजारको हालत पनि त्यस्तै छ। त्यहाँको व्यापार व्यवसाय पनि कोरोनाले चौपट बनाइसकेको स्थानीयहरू बताउँछन्।

नेपालमा आश्रित भारतीय मजदुरको रोजीरोटी बन्द

नेपालमा आश्रित भारतीय मजदुर पनि कोरोना भाइरसको महामारीले समस्या परेका छन्। अहिले उनीहरूको पनि रोजीरोटी पनि बन्द भएको छ।

झापाका विभिन्न नाकाबाट कामकाज गर्न नेपाल आउने भारतीय नागरिक सीमा नाका सिल भएसँगै प्रवेश गर्न पाएका छैनन्। उनीहरूलाई भारतीय एसएसबी र सशस्त्र प्रहरीले सीमा नाकामै रोक लगाएको छ।

जिल्लाको काँकडभिट्टा, भद्रपुर हुँदै गौरीगञ्ज नाकाबाट दैनिक तीनदेखि चार हजारसम्म भारतीय मजदुर झापाका विभिन्न पालिकामा आउने गरेका थिए।

भारतीय मजदुरले निर्माण कार्य, पलाई उद्योग, अन्य व्यापार व्यवसाय लगायत कामकाजका लागि दैनिक आउने र फर्किने गरेका थिए। भारतीय मजदुर आउन छाडेपछि अहिले जिल्लाका अधिकांश विकास निर्माण लगायतका कामकाजमा समेत प्रभावित बनेको छ।

नेपालमा मजदुर अभाव कारण यहाँका निर्माण व्ययवासीले पनि भारतीय मजदुरकै भर पर्ने गरेका छन्। निर्माण व्यवसायी पुष्प निरौलाका अनुसार जिल्लाका अधिकांश विकास निर्माणलगायत अन्य कामकाजमा भारतीय मजदुरको प्रयोग गरिन्छ।

जिल्लाका युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जाने गरेकाले यहाँ मजदुरको अभाव छ। भारतीय मजदुर आउन छाडेपछि अहिले विकास निर्माण कार्यले पनि गति लिन नसकेको उनको भनाइ छ।

‘कतिपय स्थानमा अहिले पनि भारतीय मजदुरले काम गरिरहेका छन्, तर तिनीहरूलाई यहाँका व्ययवासीले खाना बस्नेलगायत व्यवस्थापन गरिदिएको छ,’ उनले भने।

कोरोनाले भारतीय मजदुरको रोजीरोटी नै बन्द गरिदिएको अर्को युवा निर्माण व्यवसायी मनोज दासले बताए। यहाँका मजदुरभन्दा भारतका मजदुरको कामको फिनिसिङ राम्रो भएको बताउँदै उनले भने,  ‘उनीहरूको ज्याला पनि कम्ती, काम गराई पनि राम्रो, यहाँ त मजदुर नै भेटिँदैनन्।’

उता भारतीय मजदुर विकास दासले भने, कोरोनाले बेरोजगारी नै बनाएकोमा दुखेसो पोखेका छन्।

दैनिक नेपाल आएर भवन बनाउने काममा मजदुरी गर्दै आइरहेका दासले भने, ‘कोरोनाले अघिल्लो वर्ष पनि चार-पाँच महिना घरमा बस्नुपर्‍यो, अहिले फेरि कोरोना आउँदा दुई महिनादेखि घरमै थुनिएका छौँ।’

दैनिक नेपाली ६ सयमा ज्यालादारी काम गर्दै आइरहेको बताउँदै उनले भने, ‘अहिले नेपाल जान नपाउँदा घरपरिवार पाल्नै धौधौ भइरहेको छ।’ उनको घर सीमा क्षेत्र भारतीय बजार गलगलिया नजिकै छ। उनी जस्तै अहिले अधिकांश भारतीय मजदुरको घर सीमासँग जोडिएको भारतीय बजारमा नजिकै पर्छ। अहिले सबैको अवस्था दयनीय छ। परिवार पाल्न उनीहरू अहिले खेतीपातीको काम गरिरहेका छन्।

पर्यटन र होटेल व्यवसायी संकटमा

लामो समयदेखि सरकारले सीमा नाका बन्द गरेका कारणले बाह्य तथा आन्तरिक पर्यटकको आवागमन ठप्प भएकोले सीमा क्षेत्रका व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन्। अहिले फेरि देशभर दोस्रो लहरको कोरोना महामारीपछि लगाइएको निषेधाज्ञाले अहिले देश ठप्प बनेको छ।

सीमा क्षेत्रमा मालवाहक सवारीसाधनमा मात्रै आयात निर्यात मात्र खुल्ला भएका कारण सीमा नाका व्यवसायी अहिले फेरि मारमा परेका छन्। जिल्लामा वैशाख १९ देखि प्रशासन कार्यालय झापाले निषेधाज्ञा लगाएको छ। निषेधाज्ञा जेठ मसान्तसम्म लागू हुने जनाइएको छ।

पहिलो लहरको कोरोना संक्रमणदर शून्यमा आएपछि जिल्लाका ट्राभल्स व्यवसायीहरू फेरि उठ्ने अवस्थामा पुगेका थिए। सीमा नाकाबाट भारतीय पर्यटन आउन थालेपछि व्यवयासीहरु पुरानै लयमा फर्किन थालिसकेको बताउँदै ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले भने, ‘अहिलेको नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण व्यवसाय थप संकटमा परेको छ, अब फेरि जुरमुराउन व्यवसायीलाई निक्कै चुनौतीको सामना गर्नुपर्ने हुन्छ।’

जिल्लामा ८० बढी ट्राभल्स व्यवसायी छन्। ‘पहिलो लहरको कोरोनाका कारण आधा दर्जन जति व्ययवासीले यो पेसा छाडिसके, अहिलेको अवस्था हेर्दा फेरि कति व्ययवासीले पेसा छाडने हो?,’ उनले भने। ‘पर्यटन व्यवसायीका लागि तीनै तहका सरकारले चासो देखाउनुपर्ने हो,’ उनले भने, ‘व्यवसायीका लागि राज्यले राहत प्याकेज लागू गर्नुपर्ने छ।’

काँकडभिट्टामा १५ वटा ट्राभल्स छन्। अहिले उनीहरूलाई भाडा तिर्न पनि सकस भइरहेको छ। ‘घरधनीले भाडा माग्ने, व्ययवासीको पसल र कारोबार भने ठप्प छ, कसरी भाडा तिर्ने र कर्मचारी पाल्ने व्यवसायीहरू समस्या छन्,’ उनले थपे। त्यस्तै होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठका अनुसार होटेल व्यवसायी कोरोनासँगै भोकले मर्ने स्थिति पुगिसकेको बताए।

‘राज्यले होटेल व्यवसायका लागि केही नसोचिँदा हामी मारमा परेका छौँ,’ उनले भने, ‘कोरोनाले नाका ठप्प हुँदा होटेल सञ्चालकले घरधनीलाई भाडा र बैङ्कको ऋण तिर्न नसक्ने अवस्थामा यहाँका व्यवसायी पुगेको छ।’



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment