२०७८ जेष्ठ ३० गते , आईतवार

चिया मजदुर नेताहरु भन्छन् : कामविहीनलाई राहत र काममा जानेलाई खोप देऊ

चिया मजदुर नेताहरु भन्छन् : कामविहीनलाई राहत र काममा जानेलाई खोप देऊ :: Times of Pradesh

बिर्तामोड । चिया मजदुरहरूको समस्या समाधानमा सरोकारवालाहरू गम्भीर बन्नु पर्नेमा सम्बद्ध मजदुर नेताहरूले जोड दिएका छन् ।कोरोना महामारीका बेला धेरै मजदुर कामविहीन भएको, काममा भएकाहरू पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको भन्दै मजदुर नेताहरूले सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार भएको भर्चुअल छलफलमा मजदुर नेताहरूले सरकार चिया मजदुरको पक्षमा उभिन नसकेको भन्दै गुनासो गरे ।

चिया बगान र उद्योगमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन नसकेको भन्दै उनीहरूले त्यसका लागि व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएका छन्  । चिया बगान तथा उद्योगको तत्काल अनुगमनका लागि उनीहरूले राजनीतिक दल तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

मजदुर नेताहरूले अहिले कामविहीन भएका मजदुरहरूलाई तत्काल राहतको व्यवस्था गर्न र जोखिमपूर्ण अवस्थामा काम गरिरहेका मजदुरलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कोरोनाका कारण अहिले टोका, मित्तल र गुप्ता चिया बगानका ११५० बढी मजदुर कामविहीन भएको बताइएको छ । उनीहरूका लागि तत्काल राहतको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै कोरोना संक्रमित मजदुरको निःशुल्क उपचार तथा संक्रमित भई मृत्यु भएका मजदुर परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

मजदुर नेताहरूले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षामा सबै चिया श्रमिकलाई सूचीकृत गरिए मजदुरका अधिकांश  समस्या समाधान हुने उनीहरूको भनाइ छ । श्रम ऐन २०७४ कार्यान्वयनको समेत समस्या देखिएको उनीहरूको भनाइ छ ।

सरोकारवालाबिच सहमति भए बमोजिम श्रमिकको वृद्धि भएको ज्याला तत्काल कार्यान्वयन गर्न मजदुर नेताहरूले आग्रह गरेका छन् । नेपाल चिया उत्पादक सङ्घ सम्बद्ध उद्योगहरूले सहमति कार्यान्वयन गरे पनि अन्य उद्योगले आनाकानी गरेकाले सबै उद्योगलाई उक्त सहमति कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

श्रमिक र उत्पादकहरूबिच सहमति भएका विषयहरूलाई राजपत्रमा प्रकाशित गरी ऐन बनाउन मजदुर नेताहरूले सुझाव दिएका छन् ।

आफ्ना अल्पकालीन र दीर्घकालीन मागहरू समाधान नभए सङ्घर्षमा उत्रने उनीहरूले बताएका छन् । छलफलमा अखिल नेपाल टेड युनियन महासंघ प्रदेश नं। १ का अध्यक्ष भूपाल सापकोटा, नेपाल टेड युनियन महासंघ (जिफन्ट) का प्रदेश नं। १ उपाध्यक्ष सन्त राई, नेपाल टे«ड युनियन काङ्ग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टेड युनियन महासंघ नेपाल (टुकोन) का प्रदेश नम्बर १ अध्यक्ष हर्क थुङ्गिमले सरकारले मजदुरको हितमा काम गर्न नसकेको भन्दै तत्काल आफ्ना समस्या सम्बोधनका लागि आग्रह गरेका छन् ।

नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा, चिया श्रमिक सङ्गठनका अध्यक्ष कर्ण खातीले चिया मजदुरका समस्या तत्काल सम्बोधन नगरे सङ्घर्षमा उत्रने बताएका छन् । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment