२०७८ जेष्ठ २९ गते , शनिवार

भद्रपुरबाट जाँदा जाँदै इन्स्पेक्टरले छाडे बिना कारबाही भारतीय प्लेटका सवारीसाधन

भद्रपुरबाट जाँदा जाँदै इन्स्पेक्टरले छाडे बिना कारबाही भारतीय प्लेटका सवारीसाधन :: Times of Pradesh

झापा। वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले बिना कारबाही भारतीय नम्बर प्लेटका तीनवटा सवारीसाधन त्यत्तिकै छाडिदिएका छन्।  अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु तीन घण्टाअगाडि ती सवारीसाधन बिनाकारबाही छाडेका हुन्।

इन्स्पेक्टर पुरीले छाडेका दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन्। उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छैनन्। उनको मौखिक आदेशमा ती सवारीसाधन छाडिएको प्रहरी स्रोतले जनाएको छ। बुझिलिने भन्ने कुनै कागजातमा प्रहरीले धनीलाई हस्ताक्षर नगराउँदा सवारी नम्बर खुल्न सकेको छैन।

१४ महिनादेखि बिना भन्सार सीमावर्ती नेपाली बजारमा खुलेआम भारतीय सवारीसाधन चलिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईको निर्देशनमा ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा भारतीय सवारीसाधन नियन्त्रणमा लिने अभियान थालेका थिए।

पाँचवटा रोकेर तीनवटा मात्र छाडियो

सोही अभियानबमोजिम वडा प्रहरीले वैशाख १८ गते नगर क्षेत्रबाट ८ वटा भारतीय नम्बर प्लेटका दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएका ती सवारीसाधन जेठ २ गते बिहान ८ बजेसम्म वडा कार्यालय परिसरमै थिए।

तर, भद्रपुर छाडेर जान लागेपछि इन्स्पेक्टर पुरीले दीपेश साहको नम्बर प्लेटसमेत नभएको मोटरसाइकल, चन्दन कामतीको मोटरसाइकल र कामतीकै भाउजूको स्कुटर मात्र छाडेपछि अहिले व्यापक चर्चाको विषय बनेको छ। अन्य पाँचवटा सवारीसाधन नछाड्ने, तीनवटा मात्रै छाडेपछि अहिले आफ्नो सवारीसाधन नछाडेका व्यक्तिले प्रहरीको कामप्रति आक्रोश पोख्न थालेका छन्। इन्स्पेक्टर पुरीले यसअघि पनि साहको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर त्यत्तिकै छाडेका थिए।

प्रहरीले नियम उल्लङ्घन गर्ने जुनसुकै सवारीसाधनलाई नियन्त्रणमा लिएपछि ट्राफिक  नियमअनुसार कारबाही गर्नुपर्ने कानुनी प्रावधान छ। तर, भारतीय नम्बरका गाडीलाई त्यत्तिकै छाड्ने इन्स्पेक्टर पुरी आफैँले कानुनको उल्लङ्घन गरेको स्थानीयको आरोप छ।

कारबाहीबिना छाडिनु आपत्ति

प्रहरीले सडकमा नियम उल्लङ्घन गर्ने नेपाली नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिँदा पनि ५ सय देखि एक हजारसम्म जरिवाना गराउँछ, अहिले इन्स्पेक्टर भारतीय प्लेटका गाडी कारबाही बिना छाडेकोमा स्थानीय लक्ष्मण बस्नेतले आपत्ति जनाएका छन्।

उनले भने, ‘कानुन सबैलाई बराबर लाग्नुपर्ने हो, प्रभाव र दबाबमा परेर इन्स्पेक्टरले बिना कारबाही सवारीसाधन छाड्नु हुन्न थियो।‘ अस्थायी ट्राफिक प्रहरी भद्रपुरका इन्चार्ज दिलीप राईसँग यस विषयमा बुझ्दा उनले भने, ‘सवारीसाधन छाड्दा कुनै जरिवाना नगरेको प्रस्टाए।’

वास्तविकता बुझ्दै छौँ एसपी भट्टराई

यता, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले नियन्त्रणमा लिएका सवारीसाधन इन्स्पेक्टर पुरीले छाडेको विषयमा आफूलाई केही जानकारी नभएको बताए। यस विषयमा आफूले बुझ्ने उनको भनाइ छ।

त्यस्तै भर्खरै सरुवा भई आइतबारबाटै जिम्मेवारी सम्हालेका वडा प्रहरी कार्यालय भद्रपुर इन्स्पेक्टर दलकुमार राईले यस घटनाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment