२०८१ फाल्गुन ४ गते , आईतबार

कचनकवलमा कोरोना फैलिने भन्दै संक्रमितको शव बोकेको एम्बुलेन्समाथि स्थानीयद्वारा अवरोध

पाँच घण्टासम्म एम्बुलेन्स सडकमै अलपत्र

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
कचनकवलमा कोरोना फैलिने भन्दै संक्रमितको शव बोकेको एम्बुलेन्समाथि स्थानीयद्वारा अवरोध

(पार्थ मण्डल) झापा । स्थानीयवासीले बस्ती नजिकै कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका छन्।  कचनकवल गाउँपालिका-५ स्थित पाठामारीका बासिन्दाले संक्रमितको शव बोकेको शव वाहन बाटैमा रोकेर अवरोध गरेका हुन्। गाउँघरमा संक्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको शव वाहन अन्ततः सुरक्षाकर्मीले यहाँबाट अन्यत्र लगेका छन्।

स्थानीयको अवरोधका कारण संक्रमितको शव बोकेको सवारी साधन पाँच घण्टासम्म सडकमै रोकिएको थियो। उनीहरूले सडकमै ठूल्ठुला ढुंगा राखेर अवरोध गरेका थिए।  घटना विवरणअनुसार कचनकवल गाउँपालिका- ७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो। कोरोना संक्रमित ती पुरुषको उपचार क्रममा मेची कोभिड उपचार केन्द्रमा बुधबार बिहान ३ बजे मृत्यु भएको हो।

वैशाख २३ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए। मंगलबार राति श्वासप्रश्वास समस्या आएपछि गाउँपालिकाकै एम्बुलेन्समा राखेर  उपचारका लागि उनलाई मेची अस्पताल लगिएको थियो। उनको त्यहाँ केही घण्टाभित्रै मृत्यु भएको हो।

नेपाली सेनाको शव व्यवस्थापन टोली सो मोटरमा राखेर उनको शव कचनकवल(५ स्थित पाठामारीको मेची नदीघाट ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। मेची नदी घाटमा जेसिभीले खाल्टो खनेलगत्तै विरोधमा उत्रिएका स्थानीयवासी एम्बुलेन्स पुगेपछि झन् चर्को विरोधमा उत्रिएका थिए।

नदी किनारमा शव व्यवस्थापन गर्न नदिने भन्दै आएका स्थानीयले पछि संक्रमितको शव बोकेको एम्बुलेन्स पनि गाउँको बाटोबाट हिँड्न नदिने भएपछि त्यहाँ घण्टौँ तनावग्रस्त बनेको थियो। अहिले शव वाहन कम भएका कारण एम्बुलेन्सले बिरामी बोक्ने मात्र होइन शव पनि बोक्ने गरेका छन् ।

त्यसपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, जनप्रतिनिधिसहित प्रहरी टोलीका इन्चार्जले समेत बुझाउँदा गाउँले नमानेपछि समस्या झन् बल्झिँदै गएको स्थानीय रत्नकुमार बुढाथोकीले जानकारी दिए।

‘स्थानीयको अवरोधपछि नेपाली सेनाको शव व्यवस्थापन टोली त्यहिँ  बस्नुपर्‍यो,’ उनले भने, ‘त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर सो वाहन मृतक व्यक्तिकै घर तर्फ लगे।’ संक्रमितको शव उनकै घरको आँगनमा दाहसंस्कार गरिने स्वास्थ्य शाखा प्रमुख यादवले बताए। गाउँपालिकाले पूर्वमा मेची नदी र पश्चिममा बिरिङ खोला किनारमा शव व्यवस्थापन गर्ने भनी निर्णय गरिसकेको छ।

‘सोही निर्णय बमोजिम नै संक्रमितको शव मेची नदीको घाटमा लगिएको हो, तर स्थानीयले विरोध गर्छन् भनी हामीले कल्पना पनि गरेका थिएनौँ,ु उनले भने। यस्तो संकटमा जसलाई पनि यस्तो अवस्था आउन सक्छ, तर त्यहाँका स्थानीयले त्यो नबुझ्दा समस्या उत्पन्न भएको उनले बताए। 

सम्बन्धित समाचार