२०८३ बैशाख ३ गते , विहीबार

तीन पत्रकार र एक प्रदेशसभा सदस्य पनि कोरोना संक्रमित

झापामा तत्काल निषेधाज्ञा नहुने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १६ गते , विहीबार
तीन पत्रकार र एक प्रदेशसभा सदस्य पनि कोरोना संक्रमित

झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहनुभएको छ ।

पालोमा सेवा दिन अनुगमन टोलीको आग्रह

झापाको दमकस्थित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सरकारी कार्यालयहरुको अनुगमन गरी पालोमा सेवा प्रवाह गर्न सुझाव दिएको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले मालपोत कार्यालय, नापी कार्यालय, गोरखा डिपार्टमेन्ट स्टोर, एनएमबी बैङ्कलगायतमा अनुगमन गरेको थियो ।

सेवाग्राहीको भीडभाड हुँदा कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएको जनाउँदै अनुगमन टोलीले मालपोत र नापी कार्यालयलाई तत्कालै क्षेत्रगत पालो प्रणाली लागू गरेर सेवा प्रवाहित गर्न आग्रह गरेको छ ।

झापामा तत्काल निषेधाज्ञा नहुने

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताए । 

जिल्लामा हालसम्म कोभिड–१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नु पर्ने प्रजिअ तिम्सिनाको भनाइ छ।

उनले तराईमा ५०० र पहाडमा २०० कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए ।

सम्बन्धित समाचार