मोरङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
झापा । मोरङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । केराबारी ८ स्थित जङ्गलमा शुक्रवार दिउसो ११ बजे को १ त ५८४९ नम्बरको ट्याक्टरले को३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही स्थानका ५० वर्षीय नरेश कुमार सोडारी गम्भीर घाइते भएका थिए ।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रवार दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने–केराबारी सडक खण्डको जङ्गलमा दक्षिण आउँदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले विपरीत दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी ९ डागिहाट का २६ वर्षीय सुरेश कुमार चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको छ ।
मोटरसाइकल पछाडि सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मी मार्ग का ३४ वर्षीय रुपेश अधिकारी घाइते भई सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।