२०७८ बैशाख २४ गते , शुक्रवार

चन्द्रगढीको लेखनाथ चोकदेखि देउनियाँ खोलासम्मको सडक विस्तारको काममा विवाद

चन्द्रगढीको लेखनाथ चोकदेखि देउनियाँ खोलासम्मको सडक विस्तारको काममा विवाद :: Times of Pradesh

झापा । झापाको भद्रपुरस्थित चन्द्रगढीको लेखनाथ चोकदेखि पश्चिम काफ्ले टोल हुँदै देउनियाँ खोलासम्म जोडन नालासहित सडक विस्तारको निर्माण कार्यमा विवाद देखिएको छ । एक वर्ष अघि सघन सहरी विकास आयोजना भद्रपुरले निर्माण गरेको कल्भर्ट नै दक्षिण तर्फ दुई फिट मिचेका कारण अहिले सडक विस्तारको काममा विवाद देखिएको हो ।
भद्रपुर ७ र १० को सिमानामा पर्ने सो सडक खण्डमा केही दिनयताबाट पक्की नालासहित सडक फराकिलो पार्ने काम सुरु गरिएको छ । विगतमा कल्भर्ट नै दक्षिण तर्फ मिचेका कारण हाल वारपार सडक दक्षिण झरेको  देखिएको छ ।
पहिलो चरणमा उत्तर तर्फ नाला बनाउन सुरु गरेको सडक निर्माण उपभोक्ता समितिले शिवकुमार न्यौपानेको घरसम्मको चोकमा एउटै लाइनमा आएको नालालाई चोकबाट सीताराम न्यौपाने ९उपभोक्ता समिति सचिव०को जग्गाबाट दक्षिणतर्फ पवित्रादेवी नेपालको जमिन तर्फ दुई फिट मिचेपछि विवाद बल्झिएको हो ।  
केही वर्षअघि  दक्षिण तर्फको नाला चोकसम्म नै खनेको तर उत्तर तर्फ चोक पूर्वबाट सिताराम न्यौपानेको जग्गा तर्फ करिब एक सय मिटर नाला खनिएको थिएन । सोही क्रममा सघन सहरीले दक्षिण तर्फको नालालाई आधार बनाएर ३० फिट उत्तर लैजाँदा समितिका सचिव न्यौपानेको जग्गा जोगिएको  छ ।
बाटोको मोडाइ कता हुने हो भनेर सघन सहरीले उत्तर तर्फ कल्भर्ट बनाउने केही फिट छोडे पनि हालको उपभोक्ता समितिले कल्भर्ट नहेरी साबिकको सडकलाई मध्य विन्दु बनाएर लैजाँदा दक्षिण तर्फका जनता पीडित बनेका हुन ।  नालासहित सडकको चौडाइ ४० फिट रहेको छ । केही वर्ष अघि वडा नम्बर १० का सदस्य तुलसी पोखरेलको नेतृत्वमा सडक मिलाउने भन्दै ग्रेडर लगाएर उत्तरतर्फको माटो काटेर दक्षिण तर्फ थुपारेका थिए ।
त्यसपछि खाल्डा खुल्डी पुर्ने क्रममा बिछ्याएको मिक्स गिटी बगेर दक्षिण झरेपछि सडकको मुख्य सिमाना दक्षिण तर्फ देखिदा उत्तर तर्फ कम क्षति हुन गएको हो ।
हाल उपभोक्ता समितिले बनाउँदै गरेको सडकमा बाटो दक्षिणका जग्गाधनी पीडित बनेका छन् । सडकको दक्षिण तर्फ रहेका नेपाल, देवी प्रसाद दाहाल, लीलाकान्त घिमिरे, तेजप्रसाद अधिकारी, कुमार कोइराला लगायतको जमिन अतिक्रमणमा परेका छन् ।
नक्सामा बाटो नदेखिएकोले दुवै तर्फको जग्गा नापेर मध्य विन्दुबाट बराबरी  सडकको नाप लिनु पर्ने पीडित तेजप्रसाद अधिकारीको माग छ । सडक दक्षिण तर्फ पेलेर ल्याएको उनको दाबी छ । उपभोक्ता समितिको चरम लापरबाही भएको अर्का पीडित जग्गाधनी देवी प्रसाद  दाहालले आरोप छ । नाला सीधा हुनुपर्नेमा आफन्त र सचिव न्यौपानेले नियतवश नाला बाङ्कोटिङ्गो बनाएको उनको दाबी छ ।
सडकमा विवाद देखिएपछि आइतबार बिहान १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का (काजी), वडा नम्बर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, भद्रपुर नगरपालिका इन्जिनियर योगेन्द्र रञ्जीतकार, उपभोक्ता समिति, जग्गा धनी लगायत बिच छलफलमा समितिका सचिव न्यौपाने उल्टै पीडित जग्गाधनीहरूमाथि जाइलगेका थिए ।

सरोकारवालालाई सम्झाउनको सट्टा न्यौपानेले सरोकारवालाहरूलाई अपशब्द बोल्दै आक्रमणको प्रयास समेत गरेका थिए । गल्ती ढाकछोप गर्न ठुलो स्वरले उफ्रिएपछि इन्जिनियर रञ्जीतकारले समितिले शिष्ट भाषा प्रयोग गर्न र केही अप्ठ्यारो परेमा नगरपालिकालाई जानकारी गराउन भन्दै सचेत गराएका थिए । सघन सहरीले राखेको कल्भर्ट नै दक्षिण तर्फ दुई फिट झरेका कारण यो समस्या आएको रञ्जितकारको भनाइ छ । निर्माणमा अवरोध नगरी सुचारु गर्ने सहमति भएको उनले जनाए ।     

 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment