२०७८ बैशाख २४ गते , शुक्रवार

झापाको खुदुनावारीमा प्रहरी चौकी स्थापना हुने

झापाको खुदुनावारीमा प्रहरी चौकी स्थापना हुने :: Times of Pradesh

झापा । झापाको खुदुनावारीमा एक हप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो ।

‘एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार पुग्नु पर्ने अवस्था थियो’, अर्जुनधारा ३ का अध्यक्ष जीवन भण्डारीले भने, ‘हामीले वर्षौँदेखि प्रहरी चौकी आवश्यक छ भनेर भनेका थियौँ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँलाई ज्ञापन पत्र पनि बुझायौँ । हाम्रो माग कसैले सुनेको थिएन । अहिले पूर्व मन्त्री अग्निप्रसाद खरेललाई भेटेर चौकीको आवश्यकता बारे जानकारी गराएपछि उहाँले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतसँग म र २ नम्बर वडा अध्यक्ष रघुनाथ खनाल लगायतका साथीहरूलाई राखेर प्रहरी चौकी स्थापनाका लागि पहल गरिदिनु भयो । माथिसम्म पनि उहाँले लबिङ गरेकाले अब प्रहरी चौकी स्थापना हुने अवस्थामा पुगेको छ, उनले भने ।’

वडा अध्यक्ष भण्डारीले अबको एक हप्ताभित्र खुदुनाबारीमा प्रहरी चौकी सञ्चालनमा आउने जानकारी दिए । ‘पहिले भुटानी शरणार्थी रहेको समयमा स्वास्थ्य चौकीका लागि बनाएको एउटा सानो भवन थियो, स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि त्यो खाली रहेको थियो । त्यसलाई मर्मत गरेर प्रहरी चौकी सञ्चालन गर्ने तयारी गरेका छौँ’, वडा अध्यक्ष भण्डारीले भने ‘प्रहरी चौकीको मर्मतका लागि नगरको बोर्ड बैठकबाट निर्णय पनि गरेका छौँ । असईको कमान्डमा प्रहरी चौकी सञ्चालन गर्ने विषयले स्थानीयलाई उत्साही बनाएको छ ।’

पूर्व मन्त्री खरेलले स्थानीय वडाध्यक्षहरू, नेकपा एमालेका स्थानीय नेता लोकनाथ श्रेष्ठ लगायतले प्रहरी चौकी स्थापनाका लागि पहल गर्न आग्रह गरे अनुसार आफूले समन्वयको काम गरेको बताए । खुदुनावारी क्षेत्रमा प्रहरी चौकीको आवश्यकता अधिक रहेको देखेर समन्वय गरेको पूर्व मन्त्री खरेलको धारणा छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment