झापामा नौ महिनामा ५१० दुर्घटना, ७४ जनाको मृत्यु
झापा । पछिल्लो नौ महिनामा झापामा पाँच सय १० वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ७४ जनाले ज्यान गुमाएका छन् । पुस र माघ महिनामा सबैभन्दा बढी दुर्घटनामा भएका छन् भने दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि पुस र माघमा बढी छ ।
पुस महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा एक सय एकवटा सवारी दुर्घटना भएका छन् भने १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै माघ महिनामा भएका ९२ वटा दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । बाक्लो हुस्सुका कारण पुस र माघमा अधिक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले बताए ।
प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परी मृत्यु हुने मध्ये सबैभन्दा धेरै पुरुष छन् । तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा ६० जना पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् भने नौ महिला र पाँच बालकले ज्यान गुमाए । जिल्लाको विभिन्न स्थानमा साउनमा भएका २४ वटा दुर्घटनामा तीन पुरुष, भदौमा २३ वटा दुर्घटना, असोजमा १५ दुर्घटनामा एक महिला, एक पुरुष, कात्तिकमा ३३ वटा दुर्घटनामा पाँच पुरुष, मंसीरमा ४७ वटा दुर्घटनामा नौ पुरुष र दुई बालकसहित ११ जनाले ज्यान गुमाए ।
त्यस्तै पुसमा १२ पुरुषसहित तीन महिला र दुई बालकले एक सय एउटा दुर्घटनामा परी ज्यान गुमाए । माघमा भएका ९२ वटा दुर्घटनामध्ये १३ पुरुष, दुई महिला र एक बालकले ज्यान गुमाएका छन् ।
फागुनमा ९२ वटै दुर्घटनामा नौ पुरुष र एक महिला गरी दश जनाले ज्यान गुमाए भने चैतमा २३ वटा दुर्घटना हुँदा ८ पुरुष र दुई महिलासहित दश जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा झापाको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरीले पछिल्लो नौ महिनाको अवधिमा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कार्वाही गर्दै तीन करोड ४५ लाख ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।