कनकाई सामुदायिक वनमा लफडा, पुनः मतगणनाको माग राख्दै तालाबन्दी
झापा । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई सामुदायिक वनमा लफडा बल्झिएको छ। कनकाई सामुदायिक वन उपभोक्ता समूहको पदाधिकारीका लागि भर्खरै सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै असन्तुष्ट पक्ष आन्दोलित बनेपछि लफडा बल्झिएको हो। आन्दोलित बनेका असन्तुष्ट पक्षले कनकाई सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
२०७७ साल चैत ३० गते सम्पन्न निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लगाउँदै संयुक्त लोकतान्त्रिक प्यानलका मोर्चा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालका प्रतिनिधिले पुनः मत गणनाको माग गर्दै संयुक्त रुपमा वनको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन्।
वनको निर्वाचनमा सम्पन्नपश्चात् मतगणनामा चार र आठ सयको मत परिणाम गणना हुँदा त्रुटि भएको नेपाली कांग्रेसका नगर सचिव दुर्गा प्रसाईँले बताए।
४ सय र ८ सय मत परिणामको गणना नतिजा एउटै भएको छ,’ कांग्रेस नगर सचिव प्रसाईँले भने, ‘निर्वाचनमा २ हजार ५ सय ९० मत खसेकोमा एक सयका २५ पोका र एउटा ९० को पोका गरी जम्मा २६ वटा पोका बनाइएको थियो, तर तीन सय सम्म मत गणना हुँदासम्म ठिकै थियो, पछिका पोका गणना गर्दा धाँधली भयो।’
निर्वाचन समितिले मतगणना धाँधली गरेको माओवादी केन्द्रका नगर इन्चार्ज गोपाल प्रसाईँले आरोप लगाएका छन्। उनले भने, ‘निर्वाचन समितिका संयोजक टीका पोखरेलको बदमासी मतगणनामा देखिएको संयुक्त प्यानलको ठम्याई छ।’ पहिलो पटक गनिएको पोकालाई निर्वाचन समितिले छुट्टै राखेको र दोस्रो पटकको मत गणना गर्दा गणकालाई उपलब्ध गराइएको तीन पोका मध्ये २ पोका छुट्टै गनिएको र एक पोका चाहिँ निर्वाचन समिति लुकाइएको उनको भनाइ छ।
निर्वाचन समितिका संयोजक पोखरेलको निर्देशनमा गनेको एक सय मतपत्रको पोकालाई पुनः गनेको र अर्को एक पोका नगनेको संयुक्त लोकतान्त्रिक प्यानलका पराजित अध्यक्षका उम्मेदवार सन्तोष रायमाझीको आरोप छ। निर्वाचन समितिले पुनः मत गणना गर्नु पर्छ, नगरेको खण्डमा कानुनी प्रक्रियामा जाने नेपाली काँग्रेसका जिल्ला सदस्य शेरबहादुर थापाले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापा, डिभिजन वन कार्यालय झापामा पुनः मतगणनाको माग राख्दै लिखित रुपमा ज्ञापन पत्र बुझाइएको बताए।
राजनीतिक दल, प्रशासन, स्थानीय तहको रोहवरमा पुनः मतगणना गर्न माग गर्दै थापाले भने, ‘निर्वाचन समितिले घोषणा गरेको परिणाम हामीलाई स्वीकार्य छैन।’ पुनः मतगणना नगरिए आफूहरू सशक्त आन्दोलनमा उत्रिने जसपाका प्रदेश सल्लाहकार भरत श्रेष्ठले बताए। वनको निर्वाचनमा प्रगतिशील प्यानलका अध्यक्षका ख्याम ओलीले अर्का उम्मेदवार सन्तोष रायमाझीलाई १७ मतको अन्तरले पराजित गरेका थिए।