नयाँ वर्षकै दिन सवारी दुर्घटना, दुई जनाको मृत्यु

झापा । सवारी दुर्घटनामा परी मोरङमा दुई जनाको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा ७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बुधवार बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १ ०२ ००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन ।
गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिपर र चालक सुन्दरहरैचा ५ का कुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङ सुनबर्षी ८ बस्ने ३० वर्षीय वीरेन्द्र प्रसाद मण्डलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । बुधवार बिहान सवा ४ बजे सुनबर्षी ८ स्थित बिआर३८आर ८७९० नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही स्थान बस्ने २९ वर्षीय चन्दन केवटलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।