२०८१ जेष्ठ १३ गते , आईतबार

आजदेखि देशभर घटना दर्ता विशेष अभियान सुरु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १ गते , बुधबार
आजदेखि देशभर घटना दर्ता विशेष अभियान सुरु

झापा । वैशाख १ देखि १६ गतेसम्म मुलकुभर एक साथ अभियान चलाउन लागिएको विभागले जानकारी दिएको छ। उक्त अभियान सबै स्थानीय तहबाट सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको छ।

विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको बताए। नेपाल सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्‍याउने तथा अन्य घटना उल्लेख्यरुपमा वृद्धि गर्ने उद्देश्य राखेको छ।

नेपालमा हरेक वैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ भने ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुमपा मनाउँदै आएको छ। यसपटक भने १६ दिनसम्म विशेष अभियान चलाउन लागिएको हो। नेपालमा २०७२ चैत १३ गते काठमाडौं महानगपालिका १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता अभियानको शुभारम्भ गरिएको थियो। हाल सेवा विस्तार गर्दै मुलुकका छ हजार ७४३ वडामध्ये चार हजार २९६ वडाले अनलाइनमार्फत घटना दर्ता गर्न थालिसकेको छ। स्थानीय तहमार्फत अनलाइनबाट व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन विभागले प्राविधिक सहयोग, सफ्वेयरलगायत सामग्री खरिदका लागि स्रोतसमेत उपलब्ध गराइसकेको छ।

नागरिकको व्यक्तिगत घटना अभिलेखीकरण गर्ने कुरा नेपाल सरकारले सञ्चालनमा ल्यएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित रहेकाले दर्ता अनिवार्य रहेको मन्त्रालयले जनाएको छ। सरकारले जैविक विवरणसहित जारी गर्ने राष्ट्रिय परिचयपत्रका लागि पनि जन्मदर्ता अनिवार्य भएकाले घटना दर्ता गराउन सबैमा अनुरोध गरिएको विभागका निर्देशक युवराज कट्टेलले जानकारी दिए।

विभागले सबै स्थानीय तहलाई वैशाख १६ गतेसम्म शिविर सञ्चालन गरेरै भए पनि घटना दर्ता अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। स्थानीय तहमार्फत सञ्चालन हुने उक्त अभियानका क्रममा नागरिकले व्यक्तिगत घटना दर्तासँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य लाभग्राहीले निवेदन सङ्कलन गर्ने र व्यक्तिगत तथा सामाजिक गुनासोसम्बन्धी निवेदन पनि दर्ता गर्न सकिने छ। अनलाइन प्रणालीमा आबद्ध हुने क्रममा रहेका स्थानीय तहलाई यथाशीघ्र पूर्वाधार व्यवस्थापन गरी अनलाइन सेवा प्रदान गर्न पहल गरिएको विभागले जनाएको छ।

सरकारले २०३४ सालदेखि नियमित व्यक्तिगत घटना दर्ता गर्दै आएको छ। त्यस बेलादेखिका घटनादर्तालाई समेत अहिले डिडिटलाइजेसन गर्न लागिएको विभागले जानकारी दिएको छ। यस पटक विदेशमा रहेका नेपालीको समेत कूटनीतिक नियोगमा पञ्जीकाधिकारी तोकेर घटना दर्ता गर्ने व्यवस्थासमेत मिलाउने प्रावधान रहेकाले प्रक्रिया अघि बढिसकेको जनाइएको छ।

सरकारले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। यस्तै चालु आर्थिक वर्षमा एक करोड र आगामी तीन वर्षमा शतप्रतिशतलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ। हालम २८ लाख बढीले परिचयपत्र बनाइसकेका छन्। गृह मन्त्रालयले एकमात्र रुपान्तरणकारी आयोजनाको रुपमा राष्ट्रिय परिचयपत्र वितरण तथा घटना दर्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार