कोरोना : झापाका सीमा नाकामा थप कडाइसँगै होल्डिङ सेन्टरलाई व्यवस्थित बनाइने
![कोरोना : झापाका सीमा नाकामा थप कडाइसँगै होल्डिङ सेन्टरलाई व्यवस्थित बनाइने](https://timesofpradesh.com/uploads/news/full/1618322363_CDO (2).jpg)
झापा । पुनः बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई मध्यनजर गरी काँकडभिट्टास्थित नेपाल भारत सीमा नाकामा रहेको होल्डिङ सेन्टरलाई व्यवस्थित बनाइने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संक्रमण व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले होल्डिङ सेन्टरलाई व्यवस्थित बनाउन तीन वटा चेम्बर स्थापना गर्ने निर्णय गरेको छ ।
त्यहाँ खानेपानी , बाथरुमलगायतका न्यूनतम सेवाहरू व्यवस्थित गर्ने निर्णय गरिएको जिल्ला स्तरीय कोभिड १९ संक्रमण व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । होल्डिङ सेन्टर तथा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री सम्बन्धित पालिकाले नै बेहोर्नु पर्ने भएको छ । उनले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीका युनिटहरू परिचालन गरी सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए । झापामा भारतसँग जोडिएको १४४.२ किलोमिटर लामो सीमा रहेको छ ।
त्यहाँ सशस्त्र प्रहरीका १८ वटा बिओपी खडा गरिएका छन् । भारतमा व्यापक रुपमा कोरोना फैलिएको र नेपालमा समेत पुनः संक्रमण दर बढ्न थालेकोले घर बाहिर निस्किँदा सबैले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने , सार्वजनिक स्थानमा भिडभाड नगर्ने , सभा , सम्मेलन , गोष्ठी , सेमिनार ,मेला , महोत्सवजस्ता कार्यक्रम नगर्न नगराउन जिल्लाका सबै पालिका तथा सम्बन्धित सबैलाई अनुरोध गर्ने , जनचेतनामूलक सूचना प्रचारप्रसार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने , प्रहरीलाई माइकिङ गर्न लगाउने ,दैनिक रुपमा दुई वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नेलगायतका विभिन्न १२ वटा निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले बताए ।
कार्यक्रममा प्रजिअ तिमिल्सिना , सहायक प्रजिअ कृष्णबहादुर शाही , प्रहरी उपरीक्षक सानुराम भट्टराई , सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे , जिल्ला अनुसन्धान कार्यालयका निर्देशक तिलक शर्मा प्रसाईँ , नयाँ श्रीनाथ गणका सेनानी आकृति घिमिरे , मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुर , जनस्वास्थ्य प्रमुख ईश्वरीप्रसाद पौडेल , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , जिल्ला समन्वय समितिका नायव सुब्बा भानुभक्त भट्टराईलगायतको उपस्थिति रहेको थियो ।