२०७८ बैशाख २४ गते , शुक्रवार

तरकारीको मूल्यमा मनपरी

तरकारीको मूल्यमा मनपरी :: Times of Pradesh

काठमाडौं । खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको छ ।

सरकारी संयन्त्रले बजार अनुगमनमा देखाएको लाचारीपनका कारण व्यापारीहरूले मनपरी रूपमा मूल्य लिने मौका पाएको सरोकारवालाहरू बताउँछन् ।
व्यापारीहरूले काउली, काँक्रो, गाजर, घिउसिमी, ब्रोकाउली, भिन्डी, गोलभेडालगायत हरियो तरकारीको मूल्यमा मनपरी मूल्य लिने गरेको पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार सोमवार काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ तर खुद्रा बजारमा भने ८० देखि ९० रुपैयाँ किलोसम्म विक्री भइरहेको छ । प्रतिकिलो ९० रुपैयाँ रहेको लोकल काँक्रोको मूल्य पनि यति बेला १ सय १० रुपैयाँसम्ममा खुद्रा व्यापारीले लिइरहेका छन् ।

१ सय रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको भिन्डीको मूल्य पनि खुद्रा बजारमा १ सय ५० रुपैयाँसम्म रहेको छ । ९० रुपैयाँ किलोको ब्रोकाउली १ सय ३०, ५० रुपैयाँ किलोको गाजर ८० रुपैयाँ र १ सय रुपैयाँ प्रतिकिलोको घिउसिमीको मूल्य १ सय ४० रुपैयाँसम्म रहेको छ ।

कीर्तिपुर, कलंकी, कुलेश्वर, कालीमाटी, लगनखेललगायतका खुद्रा बजारमा व्यापारीहरूले अस्वाभाविक रूपमा तरकारीको मूल्य मनपरी रूपमा लिने गरेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment