आदिवासी महिलाहरूको भूमि अधिकार नामक पुस्तक विमोचन

झापा । सामुदायिक वनमा आदिवासी महिलाहरूको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । सोमबार झापाको बिर्तामोडमा एक समारोहका बिच पूर्व मन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका हुन् ।
सामुदायिक वन नीति समीक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा बहिष्करणसम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको झापा र मोरङमा रहेका आदिवासी समुदायलाई समेटेर अनुसन्धान गरिएको पुस्तकको प्रतिवेदन आदिवासी विज्ञ तथा अनुसन्धानकर्ता यशोकान्ती भट्टचनले तयार गरेकी हुन् ।
पुस्तकका बारेमा विश्लेषक नन्द कन्दङबाले प्रकाश पारेका थिए । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष चिनीमाया माझीको अध्यक्षता सम्पन्न कार्यक्रममा बिर्तामोड नगर सदस्य सुरेन राजवंशी, महिला नेतृ रोशनी मेचे, हरि धिमालले धारणा राखेका थिए । कार्यक्रम शोभा शाक्यले सञ्चालन गरेकी थिइन् ।