२०८१ चैत्र १४ गते , विहीबार

बिएण्डसी हस्पिटलले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३० गते , सोमबार
बिएण्डसी हस्पिटलले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने

झापा  । झापाका एक सय जना विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलले सोमबार पत्रकार सम्मेलन गरी सय जना विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको हो । लोपोन्मुख तथा विपन्न समुदायका नागरिक अझै पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको बताउँदै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले भने, हुने खानेले मात्र स्वास्थ्य बीमाको सेवा लिन हस्पिटल आउने गरेको छ, तर विपन्न समुदायको बिमा नहुँदा उनीहरू सुविधायुक्त स्वास्थ्य सेवा लिनुबाट वञ्चित हुनु परेको छ, त्यसैले उनीहरूको बीमा गरिदिन लागेको हो ।  
सरकारले लागु गरेको बीमा कार्यक्रममा विपन्न नागरिकको पहुँचमा नदेखिएको बताउँदै प्रसाईँले भने, ‘ हस्पिटलले बीमा गरिदिएपछि स्वास्थ्य उपचारमा उनीहरूको पहुँच स्थापित हुनेछ भन्ने हाम्रो विश्वास हो ।’ हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तरगत पहिलो चरणमा सय जना विपन्न समुदायको पहिचान गरी बीमा गरिदिने उनको भनाई । 'दोस्रो चरणमा थप सय जनाको बीमा गरिदिने हस्पिटलको योजना छ,' उनले भने, 'स्वास्थ्य उपचार नपाएर कोही विपन्न नागरिक अकाल मै मर्नु हुँदैन ।'

 उनले पत्रकार मार्फत सिफारिस भइआएका विपन्न नागरिकलाई मात्रै बीमा सुविधा उपलब्ध गराउने योजना रहेको सुनाए । पहिचानमा आएका विपन्न समुदायका नागरिकलाई दर्ता सहयोगीको मार्फत घरमा बीमा गरिदिने योजना रहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले बताए । स्वास्थ्य बीमाबापत पाँच जनाको परिवारलाई ३५ सयका दरले सरकारलाई हस्पिटलले रकम बुझाई दिने उनले बताए । ३५ सयको बीमाले एक परिवारले सरकारबाट एक लाखसम्मको औषधि उपचार खर्च पाउने छ ।

सम्बन्धित समाचार