पत्रकार महासंघ झापाका नवनिर्वाचित सदस्यलाई बधाइ तथा शुभकामना
झापा। नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचित पदाधिकारी, प्रदेश तथा केन्द्रका परिषद सदस्यलाई आइतबार बिर्तामोडमा बधाइ तथा शुभकामना व्यक्त गरिएको छ । श्रमजीवि व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरिएको हो । निर्वाचन परिचालन समितिका संयोजक कृष्ण हुमागाईंको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिब चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले एकराज गिरीको नेतृत्वमा निर्वाचित नयाँ नेतृत्वलाई महासंघको गरीमा र इतिहासलाई अक्षुण राख्न र नयाँ नेतृत्वलाई उचाईमा पुर्याउन सफल हुन शुभकामना दिए ।
आदिवासी जनजाति, पिछडिएका समुदायमा लक्षित कार्यक्रम सञ्चालन गर्न महासंघको निर्वाचित नयाँ नेतृत्वलाई सुझाब दिए ।
उनले पत्रकार महासंघको भूमिका अझै बढेर गएको बताउँदै आफ्नो क्षेत्र र सिमालाई फराकिलो बनाउँदै भारतका पत्रकारहरु संग समन्वय गरेर सिमा विवाद र मिचिएका ठाउँको बारेमा छलफल चलाउन महासंघको निर्वाचित नयाँ नेतृत्वलाई आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ती पौडेल , फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया, प्रेस संगठनका केन्द्रीय सदस्य बिमल लामिछाने , नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल , केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्रीलगायतले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका नवनिर्बाचित अध्यक्ष एकराज गिरीले निर्वाचनमा विजयी गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्वाचन परिचालन समितिलाई धन्यवाद दिएका छन् । उनले महासंघलाई सवैको अपनत्व हुने गरीको बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा महासंघका निर्वाचित जिल्लाका पदाधिकारी ,प्रदेश तथा केन्द्रका परिषद सदस्यहरुलाई प्रमुख अतिथी भण्डारी तथा अतिथीहरुले खादा तथा अबिर लगाएर सम्मान गरेका थिए ।
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पुर्वेलीले स्वागत गरेको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक हुमागाईंले औचित्यमाथी प्रकाश पारेका थिए । महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ झापाका सचिब नरेन्द्र ढकालले गरेका थिए ।