२०८३ बैशाख ३ गते , विहीबार

जङ्गलमा कुहिएका जरा कुँदेर छोराछोरी पढाउँछन् शिवसताक्षीका रामकुमार थेबे

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
जङ्गलमा कुहिएका जरा कुँदेर छोराछोरी पढाउँछन् शिवसताक्षीका रामकुमार थेबे

(विनोद सापकोटा) झापा । सिप सिकेका व्यक्तिको श्रम र समय खर्च भएपछि कुनै पनि निर्जीव वस्तुले पूर्णता पाउँछ । खोला, नालाले बगाएर ल्याएका र जङ्गलमा कुहिन लागेका काठका जरालाई विभिन्न जीव जन्तुको आकृति दिएर यहाँका एक अधबैँसे युवाले परिवारको गुजारा चलाएका छन् ।

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाका ४७ वर्षीय रामकुमार थेबेको सूर्य नउदाउँदै देखिको दैनिकी अस्ताउँदा पनि सकिएको हुँदैन । बिजुली बालेर पनि उनी दिमागले अह्राएको बस्तुको आकृति बनाइरहन्छन् । त्यसैको आम्दानीले परिवारको गुजारा र छोरा छोरीको पढाई खर्च हुने गरेको उनले बताए ।
दुई वर्षदेखि जङ्गलमा सडेर गइरहेका काठ, बाँसका जरालगायतका वस्तुलाई आफ्नो हातको कलाले सजीवजस्तै बनाएर बेच्छन् । उनले बनाएका जीव जनवारका आकृति बेच्नका लागि बजार सम्म पुग्नै पर्दैन । घरैमा बिक्री हुने गरेको छ । थेबेले जङ्गलबाट सुकेका बिरुवाको जरा, बाँस ल्याएर विभिन्न आकृति दिएर तङवा, खरायो, जरायो, बियर पिउने ग्लास, ड्रेसिङ टेबल, घोडाका आकृतिका बस्तु बनाउँछन् । यस्तै ठेकी, ओखली, घैँटो पनि बनाउँछन् । ‘यो सिप मलाई कसैले सिकाएको होइन मलाई मेरै दिमागले सिकाएको हा,’ उनले भने ।

खोला नाला र जङ्गलबाट ल्याएको जस्तो सुकै काठको जरालाई उनले कुनै न कुनै जीवको आकृति सम्झन्छन् । ‘ल्याउने बित्तिकै यसलाई बनाउन थाल्नु हुँदैन । साता दिन सम्म जराको अध्ययन गर्नुपर्छ । कुन जीवको आकृति बनाउन सकिन्छ अनि मात्र कुँद्न थाल्नु पर्छ,’ उनले भने । ‘काठ वा जराको आकार अनुसारको जीव जन्तुको आकृति सानो वा ठुलो बनाउन सकिन्छ । साइज अनुसार कुँदेर बनाउन समय लाग्ने हो,’ उनले भने ।

थेबे डकर्मी हुन् । उनले ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट, ईँटको काम छोडेर हस्तकला तिर लागे । ‘पैसा त सिमेन्टकै काम गर्दा धेरै हुन्छ । तर जोखिम त्यो भन्दा धेरै हुन्छ,’ उनले भने । ‘रोग लागि हालो भने डकर्मी बनेर कमाएको पैसाले उपचार गर्न पनि पुग्दैन । ज्यान त्यसै खेर जान्छ । बरु थोरै कमाई होस् ज्यानको सुरक्षा धेरै होस ।’

घरमै बसेर गरेको मिहेनतले मासिक ३० हजारसम्म कमाइ हुने गरेको थेबेले बताए । उनले भने, ‘ विना लगानी, मेहनत र समय दिएपछि घरमै बसेर परिवारको जीविका चल्ने गरेको यो काम गर्न थालेपछि थाहा पाएँ ।’

थेबेको परिवार अति विपन्न वर्गको परिवार हो । मोरङको पथरीबाट दोमुखा आएको २ वर्ष भयो । विपन्नताकै कारण उनले ९ वर्ष अगाडी सहमति दिएर श्रीमती रोशनी थेबेलाई वैदेशिक रोजगारका लागि कुवेत पठाए । ‘गएको ५ महिना सम्म त म सँग कुराकानी भइरहेको थियो । त्यसपछि अत्तो पत्तो छैन,’ उनले भने । पहिलो छोरा साजन पनि १५ वर्ष पुग्यो । छोरी मुस्कान पनि १३ वर्ष पुगेकी छन् । दाजु बहिनीले स्थानीय बाल निकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ८ उत्तीर्ण गरेका हुन् । कक्षा ९ मा अध्ययन गर्न भर्ना शुल्क र अन्य शैक्षिक सामग्री किन्ने पैसा नभएर भर्ना नगरेको थेबेले बताए ।

लकडाउन भएपछि उनको व्यवसाय पनि चौपट भएको थियो । खेतीपाती नभएका कारण उनको घरमा खाद्यान्न भण्डारण गरिएको थिएन । त्यै सिपबाट बनाएका बस्तु बेचेको पैसाले लकडाउन भर उनको परिवारले खाद्यान्न किनेर खानुपर्‍यो । त्यति बेला छोरा छोरीको विद्यालयमा भर्ना गर्न पैसाले पुगेन । थेबेले हस्तकलालाई नै पेसा बनाएर काम गरिरहेका छन् । आफूसँग सीप र जाँगर छ भने स्वदेशमा नै राम्रो कमाइ हुन्छ, विदेश गइरहनु पर्दैन भन्ने कुरो अरूलाई उदाहरण दिन थालेका छन् ।

बजारमा प्लास्टिक जन्य बस्तुको माग घट्न थालेपछि काठ, दाउरा ,बाँसका जरा, काठका जराबाट निर्माण भएका सामानको माग र मूल्य बढेको बताउँछन् थेबे । दोमुखामा हस्तकलाबाट आम्दानीसँगै उनले पहिचान पनि बनाएका छन् । आफूले बनाएका हस्तकलाका सामान विभिन्न कार्यालयमा सजावटका लागि राखिँदा उनी खुसीले गद्गद् भएका हुन्छन् ।

हस्तकलाका सामान बनाउनका लागि आवश्यक काठ, दाउरा, सुकेका जराहरू, बाँसको जरा, रुखको डाँठ गैँडे सामुदायिक बन र कनकाई नदिका बगरबाट खोजेर ल्याउने गर्छन् । त्यसबाट उनले चरा, सिंह, जरायो सर्पलगायतका आकर्षक सामग्री बनाउने गर्छन् । ‘आफ्नो हातमा भएको सीप नै यही हस्तकलाका सामान बनाउने हो,’ उनले भने । ‘पहिले मानिसले बुझ्दैनथे, अहिले सबैको रोजाइमा पर्छ ।’ उनले बनाएका सामाग्रीहरू घर गाउँमै खपत हुन्छ । बजार सम्म पुग्नै पर्दैन । कसै कसैले उपहार दिनका लागि पनि अर्डर दिने गरेको उनले बताए ।

नेपाल विविध हस्तकला र सीपले भरिपूर्ण मुलुक मध्येमा एक हो । नेपाललाई विश्वमा चिनाउने मध्ये एक विधा हस्तकलाबाट निर्मित सरसामान हो । उनका छिमेकी रामबहादुर योङया (लिम्बु)ले भने,‘छोटो समयमा धेरै आम्दानी गर्न सकिने व्यावसायिक क्षेत्र भएकाले पछिल्लो समय यसको माग बढेको छ ।’ सरकारले यसमा संलग्नहरूलाई आर्थिक, सीप सम्बन्धी र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो देखिएको छ ।

सम्बन्धित समाचार