२०८३ बैशाख ३ गते , विहीबार

कतार गएका झापा कचनकवलका उप्रेती पाँच वर्षदेखि बेपत्ता, श्रीमती गुहार माग्दै पत्रकार समक्ष पुगिन

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
कतार गएका झापा कचनकवलका उप्रेती पाँच वर्षदेखि बेपत्ता, श्रीमती गुहार माग्दै पत्रकार समक्ष पुगिन

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी निवासी ४८ वर्षीय सागर उप्रेती २०७२ साल मङ्सिर ९ गते वैदेशिक रोजगारीका लागि कतार उडेका थिए ।  आर्थिक अवस्था कमजोर भएकाले उप्रेती स्वदेशको रोजगारी छाडेर उनी खाडी मुलुक कतार गएका हुन् ।  परिवारको खुसीसँगै पैसा कमाउन कतार गएका उप्रेती वर्षौँदेखि बेपत्ता छन् । उनीसँग परिवारको हालसम्म सम्पर्क हुन सकेको छैन । श्रीमानको खोजीका लागि प्रहरी प्रशासन तथा राज्यसँग पटक पटक गुहार मागेकी उनकी श्रीमती रामकुमारी उप्रेती अनन्त पत्रकार समक्ष आइपुगेकी छिन् । 
बिर्तामोडस्थित रिपोटर्स क्लबमा शनिवार पत्रकार सम्मेलनमा सागरकी श्रीमती राजकुमारीले रुँदै भनिन्, ‘श्रीमानको खोजीका लागि म र मेरा परिवार कहाँ पुगिन्,  तर अहिलेसम्म न्याय पाउन सकिन् ।’ ‘श्रीमान् बाचेको छ कि मरिसक्यो त्यो पनि हामीलाई थाहा छैन, उनले भनिन्, ‘जे भए नि श्रीमानको खोजी गरिदिनु पर्यो ।’ 
‘विवाह भएको ९ महिनापछि नै उहाँ विदेश जानु भयो, हाम्रो छोराछोरी पनि छैन, म कसको लागि यो संसारमा अब बाच्नु, अब तपाई पत्रकारहरूले नै मेरो श्रीमानको खोजी कार्यमा सहयोग पुराइदिनु पर्यो, उनले भनिन् ।’ 
त्यस्तै सागरका बुवा प्रेमप्रसाद उप्रेतीले छोराको खोजीका लागि रातदिन दौडधुप गरिरहेको बताए । ‘आजको दिन सम्म छोराको खोजी गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौँमा २०७६ साल कार्तिक १० गते ८ बजेर ५७ मिनेटमा  छोरा नेपाल प्रवेश गरेको रेकर्ड देखिएको छ, उनले भने, ‘नेपाल आएको रेकर्ड देखिएपनि छोरा अझै परिवारको सम्पर्क आएको छैन ।’
सागर बिर्तामोडस्थित एक्टीभ एजेन्ट म्यानपावरबाट कतार गएका थिए । उनका परिवारजनले प्रहरी प्रशासनमा पटक पटक निवेदन दिँदा पनि चासो नदेखाएको र म्यानपावर कम्पनीले पनि बेबस्ता गरेको कारण उनको खोजी कार्यमा ढिलासुस्ती भएको हो । सागरको खोजी गरिदिन छु भन्दै म्यानपावरले समेत झुटो आश्वासन देखाएकोले हामीहरू मिडियाको सहयोग लिन आइपुगेको उनका मामा तुलसी मैनालीले बताए । 
 
 

सम्बन्धित समाचार