झापामा होटेल सञ्चालकको हत्या कि मृत्यु ? दुई जना पक्राउ

झापा। बिर्तामोडस्थित गाउँले होटेलका सञ्चालक तिलक निरौलाको हत्या वा मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । उनको शव मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन चारआली जङ्गलमा आइतबार बिहान फेला परेको हो । दुई दिनदेखि बेपत्ता रहेका ५० वर्षीय निरौलाको मे ९ प २२०९ मोटरसाइकल जङ्गलमा भेटिएपछि खोज्दै जाँदा पूर्वपश्चिम राजमार्गदेखि करिब सय मिटर उत्तर जङ्गलमा उत्तानो परेको अवस्थामा उनको लास फेला परेको थियो । कसैले हत्या गरेर जङ्गलमा लगेर फ्याकेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
शरीरमा चोट देखिएपनि कुन हतियार प्रहार गरेको भनेर प्रहरीले खुलाएको छैन । लास भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । सङ्घीय प्रहरी कार्यालयबाट सिकारी कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले लासलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए ।
यसैबिच प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशङ्कामा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए । उनीहरूको नाम खुलाइएको छैन । आफूहरूले यस घटनालाई गम्भीरताका साथ लिएको बताउँदै घटनामा संलग्न व्यक्ति चाँडै नै पक्राउ पर्ने जानकारी दिए ।
सामान्य काम छ भनी मोटरसाइकल लिएर उनी घरबाट हिँडेको र त्यसपछि बेपत्ता भएर लास फेला परेको परिवारले जनाएको छ । चारआली जङ्गलमा यसअघि पनि धेरै हत्याका घटना भएका थिए ।