झापामा अवैध काठसहित चार जना पक्राउ

झापा । झापामा अवैध काठसहित चार जना पक्राउ परेका छन् । बुधवार साँझ झापाको बुद्धशान्ति गाउँपालिका र र मेचीनगर नगरपालिकाको सीमा क्षेत्रबाट ६५.७४ किवी साखुको काठसहित ट्याक्टर चालक बुद्ध शान्ति ४ बस्ने वर्ष ४१ का बलबहादुर लिम्बु , काठ ओसारपसारमा संलग्न बुद्ध शान्ति ४ बस्ने वर्ष ३१ का सुमन राई, सोही ठाउँका वर्ष ३० का सुरेन लिम्बु र वर्ष २३ का दीपक तामाङ पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा काठ तस्करहरूलाई समाउन सफल भएको हो । इलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीको संयुक्त टोलीले उक्त काठसहित मे ३प ८३७८ मोटरसाइकल र मे १त १३८३ ट्याक्टर नियन्त्रण लिएको छ । बुद्धशान्तिबाट धुलाबारीतर्फ लादै गरेको अवस्थामा प्रहरीलाई देखेर भाग्न खोजेपछि घेरा हाली प्रहरीले पक्राउ गरेको हो । पछिल्लो एक महिनामा बुद्धशान्तिबाट प्रहरीले काठ फेला पारेको यो तेस्रो घटना हो । यसअघि काली खोला र सुनमाईबाट ११ र ३३ किवी काठ बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएका काठ र सवारीसाधन आवश्यक कारबाईका लागि डिभिजन वन कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।