इलामबाट भित्राइएको सिक्किमे रक्सी झापामा बरामद
झापा । इलामको पशुपतिनगर नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ । इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन नामक रक्सी ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीले रक्सीसहित गाडी चालक सुर्योदय नगरपालिका २ बस्ने २८ वर्षीय प्रकाश खड्कालाई पनि नियन्त्रणमा लिएको छ । रक्सीसहित नियन्त्रणमा लिएका चालक खड्कालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
साथै झापा प्रहरीले यसअघि विभिन्न मितिमा बरामद गरेको सिक्किम गोल्डेन नामक २११ बोतल पनि आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बुझाइसकेको जनाइएको छ ।
इलामको पशुपतिनगर, छब्बिसे, हिले र झापाको तिरीङ, बाहुण्डागी लगायतको सीमा नाकाबाट अवैध रुपमा भित्रिने भारतीय ब्रान्डका रक्सीहरू झापाका विभिन्न बजारसहित भारतको विहारमा समेत पठाइने गरेको प्रहरी स्रोतको दाबी छ । भारतको विहारमा रक्सी प्रतिबन्ध रहेकोले नेपालको बाटो भएर रक्सी जाने गरेको बताइन्छ ।