झापामा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु
झापा । झापामा पानी बोक्ने ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ७ निवासी ३३ वर्षीय कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारिको भित्री सडक खण्डमा सोमबार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ७ प ४९४१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ख ९६२५ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिएको थियो । स्कुटरमा राजवंशी दम्पती सवार थिए ।
घाइते कमला र उनका श्रीमान ४८ बर्षीय सुशिल राजबंशीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा श्रीमती कमलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक पाँचथर निवासी ३३ वर्षीय नरेश पदक फरार रहेकोले इलाका प्रहरी कार्यालय घैलाडुब्बाले उनको खोजी कार्य गरिरहेको जनाइएको छ ।