२०८१ पौष २९ गते , सोमबार
झापाको ज्यामिरगढी नाकाबाट तस्करी, दुई लाखको सामानसहित एक तस्कर पक्राउ
झापा । तस्करीको माध्यमबाट नेपाल भित्राउन लागेका लत्ताकपडासहित एक तस्करलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ । नेपाल भारतको सीमा पिलर नम्बर ९४ नजिकैबाट भारतीय एसएसबी ४१ बटालियनको कदोमनी जोत तथा जोरलाजोतको संयुक्त टोलीले शनिवार सामानसहित सन्त रायलाई नियन्त्रणमा लिएको हो ।
सीमा पिलर ९४ झापाको मेचीनगर नगरपालिका १५ स्थित ज्यामिरगढी नाका पर्छ । सीमा नाका गस्ती गरिरहेका एसएसबी टोलीले केही व्यक्ति अवैध रुपमा सामान बोकेर नेपालतर्फ जान लागेका देखेपछि खेदाएका थिए । एसएसबीले खेदाएपछि सामान फालेर केही नेपालतर्फ भागेको र एक जनालाई एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ ।
बरामद गरिएको सामानको मूल्य नेपाली दुई लाख रुपैयाँ हो । बरामद गरिएको सामानसहित रायलाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।