गोलधापका घिमिरे परिवारमा आर्थिक सङ्कट, सहयोगको लागि अपिल
झापा । झापाको हल्दिबारी–१ गोलधापका विपन्न परिवारमध्येका एक जनालाई क्यान्सर लागेका कारण परिवार आर्थिक सङ्कटमा फसेको छ । पराले झुपडीमा त्रिपालले बेरेर लीलाप्रसाद घिमिरेको परिवार बसेको छ । उनलाई क्यान्सर रोग लागेपछि अहिले तीनजनाको परिवार बिचल्ली परेको छ । दैनिक मजदुरी गरेर छाक टार्दै आएको परिवारमा उनी थलिएपछि आर्थिक सङ्कट गहिरिएको हो ।
‘आफ्नो झुपडी भएको जमिनमा एक दानो अन्न उब्जिँदैन, मजदुरी गर्ने श्रीमान् नै थला परेपछि कसरी बाँच्नु रु’ –श्रीमती तुलसाले भनिन् । १६ वर्षीया रीता कक्षा ११ मा पढ्दै थिइन् । बाबु थलिएपछि उनको पढाइ नै रोकिएको छ । उनी अहिले कसैसँग बोल्दिनन् खाली रुन्छिन् मात्र ।
घिमिरेको यस्तो अवस्था देखेपछि झापा बिर्तामोडको गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले उपचारका लागि अभियान सञ्चालन गर्ने तयारी थालेको छ । घिमिरेको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा परीक्षण गर्दा क्यान्सर भएको थाहा भएपछि संस्थाले अभियान सञ्चालन गर्न लागेको हो ।
बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले आर्थिक अभावका कारण पढ्न नसकेकी रीतालाई संस्थाको तर्फबाट पढ्ने वातावरण मिलाइदिने बताए ।
पढाइ खर्च र संस्थामै तालिमको व्यवस्था गरेर जागिर दिने अध्यक्ष श्रेष्ठले आश्वासन दिए । उनले संस्थाले गरिबी र आर्थिक अभावले छट्पटाइरहेकाका लागि संस्थाले स्थापना गरेको सहयोग कोषको सदस्य बन्नसमेत आग्रह गरे । अभियानका लागि संस्थाका अध्यक्ष भूपाल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय आर्थिक सङ्कलन समिति निर्माण गरिएको छ ।