२०८२ असार २ गते , सोमबार

झापामा ३२ करोडको लगानीमा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
झापामा ३२ करोडको लगानीमा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने

झापा । श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–६ तथा बिर्तामोड–१ मा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने भएको छ ।
विभिन्न स्थानमा मन्दिर, सदन, हस्पिटल, सहकारी, चौतारा, सार्वजनिक स्थानमा पिउने पानी, धार्मिक पुस्तकालय, धर्मशाला, वालआश्रम, बृद्धाश्रम, पाठशाला, पर्यटकीय स्थाल निर्माण गरिसकेको संस्थाले बिर्तामोड र अर्जुनधाराको सिमानामा बृहत निर्माणधिन परियोजना सञ्चालनमा ल्याउन लागेको हो ।
१० कठ्ठा ८ धुर जग्गा मध्ये ८ कठ्ठा ३ धुर परियोजनाको नाममा रजिस्ट्रेशन भई सकेको र २ कठ्ठा ५ धुर थप्न जग्गादाताबाटै प्रकृया अघि बढेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । परियोजना सम्पन्न गर्न २७ देखि ३२ करोड लाग्ने अनुमान गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद झापा उपाध्यक्ष तथा प्ररियोजना निर्माण समितिका सचिव टहलदास ओलीले जानकारी दिए ।
उक्त परियोजना भित्र जिल्लकै नमूनाका रुपमा एउटा सुन्दर प्रणामी मन्दिर, ५ तले अतिथि सदन, ६ हजार बर्गफिट भएको सभाहल, वाइजुराज नामक ४ तले भवन, सद्गुरु स्तम्भ, कलात्मक प्रवेशद्धार, धार्मिक झाँकीहरु, पार्किङ स्थल साथै आवश्यकता अनुसार भवन निर्माण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य तथा प्ररियोजना महासचिव शारदाप्रसाद थपलियाले बताए । त्यसैगरी परियोजनामा स्वास्थ्य सेवा, योगध्यान शिविर, सभा सम्मेलन, गोष्ठी, विवाह, ब्रतबन्ध वा बैधिक कर्महरु र सामाजिक सेवाका कार्यहरु सञ्चालन गरिने महासचिव थपलियाले जानकारी दिए । परियोजनाको प्रत्येक तलामा एकहल, ३ कोठा, भान्साघर, एक पकाउने कोठा निर्माण भइरहेको बताइएको छ ।
परियोजनालाई सफल बनाउन ९ वटा विभाग बनाई संयोजक तोकि सकिएको र कार्य सम्पन्न गर्न ३ देखि ५ बर्ष लाग्ने अनुमान गरिएको छ । हाल सेवा समितिबाट २१ लाख र सरकारी निकायबाट नदिको बाँधका लागि ३३ लाख प्राप्त भई कार्य गरि सकेको जनाइएको छ । परियोजनामा श्रीकृष्ण प्रणामी सद्गुरु सदन इकाई समिति, श्री बाइजुराज महिला समिति, श्री कृष्ण प्रणामी युवा परिषद, प्ररम्भिक समिति र भवन निर्माण समिति आवद्ध छन् । परियोजनाले व्यक्ति, संघ, संस्थाहरु र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्राप्त अनुदान तथा सहयोगबाट आर्थिक स्रोत जुटाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
इकाई समिति अध्यक्ष हरिप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका उपाध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईले गरेका थिए भने कार्यक्रममा वाइजुराज महिला समिति अध्यक्ष विनाकुमारी डाँगी, श्रीकृष्ण प्रणमी युवा परिषद प्रदेश १ का संयोजक अनिल ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन परियोजनाका महासचिव थपलियाले गरेका थिए ।

सम्बन्धित समाचार