प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन
झापा । १ नम्वर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक सञ्चारकर्मीहरुले निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार मेचीनगर–६ स्थित काकँरभिट्टामा प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन गदैं कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेशसभा सदस्य मैनालीले फरक विचार, आस्था र सिद्घान्तका कारण समाचारहरुलाई फरकरुपमा सम्प्रेषण गर्न नहुने बताए । हरेक पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्ने भन्दैं उनले नेपाली प्रेस स्वतन्त्र र निष्पक्ष नभए धेरै कुरामा पारदर्शिता नहुने आशंका व्यक्त गरे ।
प्रदेश सभा सदस्य मैनालीले नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था ज्यादैं न्युन भएकाले राज्यले अब सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था सुधार्न ढिलो भइसकेको बताए । नेपाली सञ्चारमाध्यमहरु र त्यसमा कार्यरत सञ्चारकर्मीहरुको अवस्थाका बारेमा आफु जानकार भएको भन्दैं संघीय प्रदेश र स्थानीय सरकारले अहिले पनि उनीहरुका बारेमा केही नसोच्ने हो भने परिस्थिती दिनप्रतिदिन जटिल बन्दैं जाने उनको तर्क छ।
विशिष्ट अतिथि मेचीनगर— ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले आगामी बजेटमा वडा कार्यालय मार्फत प्रेस क्लबलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख अतिथि मैनाली र वडा अध्यक्ष तामाङले प्रेस क्लब मेचीनगरको कार्यालयको ६÷६ महिनाको कोठा भाडा आ —आफ्नो तर्फबाट तिरिदिने पनि कार्यक्रमकै दौरानमा प्रतिबद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष लक्षी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, पूर्व केन्द्रिय सदस्य मोहन काजी,क्लबका संस्थापक अध्यक्ष एवम् नेपाल पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, निवर्तमान अध्यक्ष मुक्ति पौडेल र पुर्व ज्ञानेन्द्र निरौला, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाललगायतले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै हाम्रो समाजमा जोसुकैबाट गल्ती भएको पत्रकारले थाहा पाए त्यसलाई लुकाउनु साटो जनता सम्म ल्याई पत्रकारले आफ्नो धर्म निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।
सोहि अवसर नेपाल पत्रकार महासंघको सदस्य प्राप्त गर्न सफल क्लबका ५ जना र साधारण सदस्य उकजना गरी ६ जनालाई स्वागत तथा सम्मान गरिएको थियो । क्लबका अध्यक्ष लक्षी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका उपाध्यक्ष शिशिर चौलागाईँले स्वागत राखेको कार्यक्रमको सञ्चालन सचिव जिआर धितालले गरेका थिए ।