छेत्रीलाई मोती र ढुङ्गानालाई केटो पत्रकारिता पुरस्कार
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कारबाट झापाका जेठा पत्रकार गोविन्द चन्द छेत्री पुरस्कृत भएका छन् ।
त्यस्तै केटो पत्रकारिता पुरस्कारबाट दमककी पत्रकार गीताकुमारी ढुङ्गाना पुरस्कृत भएकी छिन् । बिर्तामोडमा शनिवार आयोजित पुरस्कार हस्तान्तरण समारोहमा पत्रकार छेत्रीलाई नगद ५१ हजारसहित सम्मानपत्रले पुरस्कृत गरेका हुन् । त्यस्तै ढुङ्गानालाई नगद १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरेका हुन् ।
उनीहरूलाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले र महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले पुरस्कृत गरेका थिए । ७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अङ्ग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ढुङ्गाना दमकबाट प्रसारित हिमशिखर टेलिभिजनमा आबद्ध छन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् ।
पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतीराम भट्टको स्मृतिमा मोती पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो । महासङ्घले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षता तथा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी, पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघका उपाध्यक्ष एकराज गिरीले स्वागत मन्तव्यसँगै पुरस्कृत हुने पत्रकार छेत्री र ढुंगानको पत्रकारिता जीवनीको बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्य गरेका थिए ।
त्यस्तै प्रेस काउन्सिल नेपालको आयोजनामा मिडिया विकास र पत्रकार आचारसंहिता बारेमा महासंघ झापा शाखामा नयाँ सदस्यता लिएका ३८ जनालाई प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षणको सहजीकरण महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले सहजीकरण गरेका थिए ।