२०८१ मंसीर २१ गते , शुक्रबार

सहकारीका सदस्यलाई बाख्रा तथा मौरी पालन तालिम

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २९ गते , शनिबार
सहकारीका सदस्यलाई बाख्रा तथा मौरी पालन तालिम

झापा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरूका लागि उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरी पालनसम्बन्धी तालिम सुरु गरेको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीन जना शेयर सदस्यहरूका लागि तीन दिने तालिम शनिवारबाट सुरु गरिएको हो । संस्थाअन्तर्गत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा विशेष कार्यक्रमका बिच तालिम उद्घाटन गरिएको हो ।

उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरी पालनसम्बन्धी तालिमको उद्घाटनपछि मन्तव्य राख्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले सुन्दा सजिलो लागे पनि पशुपालन व्यवसाय त्यति सहज नभएको बताए ।

यसरी नै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिक साकोसको वर्तमान वित्तीय स्थिति एवम् सदस्य र सेवा केन्द्रहरूबारे जानकारी गराए । उनले तालिम आयोजना गर्नुको औचित्य प्रस्ट्याउँदै सबै सेवा केन्द्रबाट चुनिएर आएका संस्थाका सदस्यहरूले तालिमपछि बाख्रा पालन वा मौरी पालन व्यवसाय गर्न सक्ने हिम्मत राख्न सुझाउँदै संस्थाले आवश्यकता अनुसार कर्जा उपलब्ध गराउने बचन पनि दिए । तालिम उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद कडरिया, घनश्याम न्यौपाने र खेमराज ढकालले आफ्ना धारणा राखेका थिए ।

उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरी पालनसम्बन्धी तीन दिवसीय तालिमको सहजीकरण प्रगति बोयर बाख्रा पालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरी पालन सहकारी संस्था दूधेका प्रतिनिधिले गर्नेछन् ।

तालिममा सिद्धान्तका कुरा मात्र नगरी आफूले सात वर्षदेखि उन्नत जातका बोयर बाख्रा पालेर बटुलेको अनुभव साट्ने सहजकर्ता पराजुलीले जानकारी दिए । शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा शिक्षा उपसमितिका अर्का सदस्य मदन रिजालले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार