२०८१ चैत्र १३ गते , बुधबार

झापामा कारागारमा थपिँदै नयाँ भवन, प्रजिअ तिमिल्सिनाले गरे शिलान्यास

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
झापामा कारागारमा थपिँदै नयाँ भवन, प्रजिअ तिमिल्सिनाले गरे शिलान्यास

झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरे ।

हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५०  कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको  कारागारमा हाल एक हजार १८४  कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन्  कारागार ३५० जनासम्मका लागि हो ।
कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको रु ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताए । चालु आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताए ।  

पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । रासस

सम्बन्धित समाचार