झापामा २७ फिट अग्लो कैलाशेश्वर महादेवको प्रतिमा अनावरण हुँदै

झापा । झापामा पूर्वी नेपालकै सबैभन्दा ठुलो आकर्षक शिव प्रतिमा स्थापना गरिएको छ । बिर्तामोड नगरपालिका-१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको भोलि बिहीबार महाशिवरात्रि दिन अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । देवी पञ्चकन्यामा स्थापना गरिएको प्रतिमा कैलाशेश्वर महादेवको हो ।
जमिनबाट ९ फुट अग्लो आधार स्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक दीपक दाहाल जानकारी दिए ।
समुदाय स्तरबाट आर्थिक सङ्कलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको संयोजक दाहालले जानकारी दिए । ‘कला र सौन्दर्यका हिसाबले यो शिव मूर्ति प्रदेश १ कै उत्कृष्ट र भव्य हो, संयोजक दाहालले भने, समुदायको अग्रसरतामा यो ठाउँलाई नमुना बनाउन खोजिएको हो।'
प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको हो, निर्माण समितिका सचिव युवराज दाहालले भने, 'प्रतिमा आवरणमा फाइबरको प्रयोग गरिएको छ ।'
महाशिवरात्रिका दिन प्रतिमा अनावरणको सम्पूर्ण तयारी पूरा भइसकेको र सो प्रतिमा जगतगुरु हेमानन्द गिरीमार्फत अनावरण गरिने उनले बताए ।
प्रतिमासँगै निर्माण समितिले पूर्व पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि निर्माण गरेको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने समितिका सदस्य निर्जला प्रसाईँले बताइन् । प्रवेशद्वार बनाइएको करिब ४ सय मिटर बाटो पदमार्गका रुपमा प्रयोग हुनेछ ।