बोइलर कुखुराको 'भिटामिन' तस्करी, सशस्त्रद्वारा चार लाख भन्दा बढीको औषधि बरामद
झापा । बोइलर कुखुराको तौल बढाउन खुवाइने भिटामिन भारतदेखि तस्करी भएर नेपाल आउने गरेको पाइएको छ । विराटनगरसहित पूर्वका एग्रिभेट व्यापारीहरूले क्यारिङ प्रयोग गरी भिटामिन भारतदेखि तस्करी गरि ल्याउने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट (बिओपी) बखरीले ठूलो परिमाणमा भिटामिन सोमबार राति विराटनगर–१६ दरैयास्थित केसेलिया खोलाबाट बरामद गरेपछि भारतदेखि तस्करी भएर आउने गरेको पुष्टि भएको छ ।
बिओपी बखरीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद गरेको छ । प्रहरीले चार लाख १८ हजार ७ सय ६७ रुपैयाँ मूल्य बराबरको ७ सय ६७ बोतल मल्टिसोल भिटामिन बरामद गरेको छ । जसमा एक सय एमएलको ४ सय ३३ बोतल, २ सय एमएलको १ सय ४८ बोतल र ५ सय एमएलको १ सय ४८ बोतल छन् ।
ठूलो परिमाणमा भिœयाइएको भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरप ठूलै कारोबारीको हुनसक्ने आशङ्का गरिएको छ । तस्करीको भिटामिन ल्याउन व्यापारीले क्यारिङ गर्नेलाई जिम्मा दिने गरेका छन् । क्यारिङ गर्नेले निश्चित रकम व्यापारीसँग लिएपछि भरिया प्रयोग गरी तस्करीको औषधि र भिटामिनहरू व्यापारीले भनेको गन्तव्यसम्म पु¥याउने जिम्मा लिने गर्दछन् । तस्करी भएर आएको भिटामिन विराटनगरका एग्रोभेटले मगाएको हुनसक्ने भएकोले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
कुखुरा हलक्क बढाउनका लागि खुवाइने यो मल्टिसोल अवैधरूपमा नेपाल भिœयाइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । बरामद साइकल र भिटामिन विराटनगर भन्सार कार्यालयमा बुझाइएको बिओपी बखरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
चोरी पैठारीमा संलग्नहरू प्रहरीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । ‘ड्युटीमा खटिएकाहरूलाई देखेपछि तस्करीको भिटामिन ल्याउनेहरू फरार भए’ उनले भने, ‘चोरी तस्करी नियन्त्रण गर्न सीमानाकामा सुरक्षा प्रहरी परिचालन गरिएको छ ।’
प्रहरीले एकसय एमएलको मल्टिसोलको खरिद मूल्य १ सय ८५, २ सय एमएलको ३ सय ६० र ५ सय एमएलको ६ सय ९० भारतीय रुपैयाँ पर्दछ । उक्त भिटामिन ६ देखि १५ दिन भएका कुखुराका चल्लाको तौल बढाउन खुवाउने गरेको जनाइएको छ । आजको ब्लाष्ट टाइम्स दैनिकमा समाचार छ ।