काँग्रेस नेता सिटौलाले लगाए कोरोनाविरुद्धको खोप

झापा । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । भद्रपुर १० निवासी ७० वर्षीय सिटौलाले मङ्गलवार बिहान मेची अस्पताल भद्रपुरमा गएर खोप लगाएका हुन् ।
सिटौलासँग उहाँकी श्रीमती ६७ बर्षीया कविता सिटौलाले पनि खोप लगाएको काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए ।
सोमबार गृह जिल्ला झापा आएका सिटौला बुधवार काठमाडौँ फर्किने जनाइएको छ । यता झापामा पहिलो चरणमा ९ हजार १६७ जनालाई कोभिसिल्ड खोप लगाएकोमा दोस्रो चरणमा ५८ हजार ५१३ जना ज्येष्ठ नागरिक खोप लगाउने अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा फागुन २३ देखि २७ गतेसम्म ८ वटा पालिकामा र चैत १ देखि ५ गतेसम्म बाँकी ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए ।
पहिलो समूहमा भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बुद्ध शान्ति, बाह्रदशी, हल्दिबारी र कचनकवलका खोप केन्द्रमार्फत ज्येष्ठ नागरिकहरूलाई खोप लगाइँदैछ । ती पालिकाहरूमा ३४ हजार ४५६ जना नागरिक ६५ वर्षभन्दा माथि उमेर समूहका रहेको जनाइएको छ ।
त्यस्तै दोस्रो समूहका नागरिकहरूलाई चैत १ देखि ५ गतेसम्म खोप दिइनेछ । सो समूहमा झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षी पालिकाका खोप केन्द्रहरूबाट सेवा उपलब्ध हुने जनाइएको छ । ती पालिकाहरूमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या २४ हजार ५७ जना रहेको कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए । पहिलो चरण अन्तरगत जिल्लामा गत माघ १४ देखि २४ गतेसम्म र फागुन ५ देखि ११ गतेसम्म ९ हजार १६७ जनालाई कोभिसिल्ड खोप लगाइएको थियो ।