छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
झापा । सुनसरी र मोरङमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका ८ की ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
गत मङ्गलवार साँझ ६ बजे सोनापुर चौकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएकी चौधरीको उपचारका क्रममा नोबेल अस्पतालमा शुक्रवार राती १२ बजे मृत्यु इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवाका चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका –४ का २५ वर्षीय धिरज माझीको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रवार साँझ ६ बजे कटहरी –७ तकिया चोकमा प्र १–०२–०४३प२०७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।