२०८३ बैशाख ३ गते , विहीबार

झापामा बीभत्स दुर्घटना : तीन वटा सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, चार जनाको अवस्था चिन्ताजनक

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १९ गते , बुधबार
झापामा बीभत्स दुर्घटना : तीन वटा सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, चार जनाको अवस्था चिन्ताजनक

(पार्थ मण्डल)  झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको सुरुङगामा बीभत्स दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । दुर्घटना परी मृत्यु हुनेमा कार चालक सुनसरीको धरान उम नगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको डिएसपी राकेश थापाले बताए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटी होम नजिकै बुधवार दिउँसो  प्रदेश १०४००१च ०१६७ नम्बरको कार, प्रदेश १०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँदा बीभत्स दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइते भएका थिए । त्यसमध्ये कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा कारमा सवारमा मृतक मगरका श्रीमती ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षति नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनका श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ रहेको डिएसपी थापाले बताए । उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बिएण्डसीका चिकित्सकले प्रहरीलाई जानकारी दिएका छन् । यता दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित समाचार