२०८३ बैशाख ३ गते , विहीबार
बेपत्ता किशोरको ३५ महिनापछि भारतबाट उद्धार
झापा । दुई वर्षअघि बेपत्ता भएका इलाम दानावारि–५ का १८ वर्षीय किशोर हुकुम राईलाई सकुशल उद्धार गरी मङ्गलवार परिवारको जिम्मा लगाइएको छ । भारतको किसनगञ्जस्थित जिल्ला बाल संरक्षण इकाई र आफन्त नेपाल काँकडभिट्टाको सहकार्यमा उनलाई उद्धार गरी परिवारसमक्ष बुझाइएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको रोहबरमा हुकुमलाई बुवा जीतबहादुर राईको जिम्मा लगाइएको आफन्त नेपाल झापाका प्रमुख मात्रिका गुरुङले बताए । ‘सुस्त मनस्थितिका १५ वर्षे बालक २०७५ वैशाख २ गतेदेखि बेपत्ता भएका रहेछन्’ उनले भने–‘खोजी गर्ने क्रममा भारतमा फेला परे र परिवारलाई खबर गरी पुनर्मिलन गराएका छौँ ।’
मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत आफन्त नेपाल नामक संस्थाले सीमा क्षेत्रमा कार्यालय स्थापना गरी समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।