२०८३ बैशाख ३ गते , विहीबार

झापा कारागारका कैदीबन्दीलाई खेल सामग्री हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १२ गते , बुधबार
झापा कारागारका कैदीबन्दीलाई खेल सामग्री हस्तान्तरण

भद्रपुर । शारीरिक तथा मानसिक तनाव नियन्त्रण गर्ने उद्देश्यले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले झापा कारागारका कैदीबन्दीहरुलाई खेल सामग्री सहयोग वितरण गरेको छ ।

प्रतिष्ठानले महिला कारागार प्राङ्गणमा मङ्गलवार आयोजित कार्यक्रमका बिच महिला कैदीबन्दीहरुलाई भलिबल, क्यारामवोर्ड ,ब्याडमिन्टन, लुँडो लगायतका आधा दर्जन भन्दा माथिका खेलकुद सामग्रीहरू प्रदान गरिएको हो ।

कारागार प्रशासन प्रमुख राजेन्द्र गौतमको रोहवरमा महिला विभाग आन्तरिक प्रशासन प्रमुख कसम गहतराजलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ , प्रतिष्ठान अध्यक्ष गङ्गाप्रसाद ओली लगायतले  हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले कारागार क्षेत्रबाट बाहिर निस्कने दूषित फोहोर पानी नियन्त्रण गर्नका लागी ८ नम्बर वडाका जनताले व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै भावी दिनमा कारागार स्थानान्तरणका लागी  डिपीआर तैयार भैसकेको बताए।

ओलीको अध्यक्षता तथा गङ्गाबहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत प्रतिष्ठानका केन्द्रीय सदस्य उमेशचन्द्र ओलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ ,नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वार्ड नं ७ र ८ का वार्ड अध्यक्षहरू विनोद पोखरेल, मनोज सुब्बा, अग्रज पत्रकार चिन्तामणि दाहाल लगायतले मन्तव्य राखेका थिए।

पछिल्लो पटक बन्दीहरूका आफन्तले भेट्न आउँदा बस्ने ठाउँको समेत अभाव हुने गरेकाले सघन सहरी विकासको आर्थिक तथा प्राविधिक सहयोगमा  भेटघाट कक्षको  समेत निर्माण कार्य सम्पन्न भई सकेको बताउँदै प्रशासन प्रमुख गौतमले उप्रान्त एक पटकमा ५० जना बन्दीका आफन्तहरूले एक साथ भेटघाट गर्न सक्ने बताए।

 ४ सय ५० जना पुरुष कैदी बन्दीको क्षमता रहेको झापा कारागारमा ११ सय ११ जना पुरुष र  ३ जना बच्चा सहित ७० जना महिला कैदी बन्दीहरू रहेका छन् जसमा महिला कारागार छुट्टै रहेको झापा कारागारले जनाएको छ  ।

सम्बन्धित समाचार