बिर्तामोडका चौधरीसहित दुई थुनुवा अदालत परिसरबाटै फरार

झापा । जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार भएका छन् । लागु औषध मुद्दामा सोमबार म्याद थप गर्न लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।
उनीहरूको खोजीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । शेख आइतबार दिउँसो कटहरिबाट आठ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परेका थिए ।
चौधरी भने आइतबार विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल नामकको लागु औषधसहित पक्राउ परेका थिए । अदालतबाट म्याद थप भई फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी गर्दै गर्दा उनीहरू हतकडीसहित फरार भएको बताइएको छ ।
सोमबार दिउँसो ३ः३० बजे प्रहरीले अदालत लगेकोमा उनीहरू अदालत परिसरबाटै भागेका हुन् । चिया नास्ता खाने भनेपछि क्यान्टिन लगिएकोमा त्यहीँबाट भागेको बताइएको छ ।