उर्लाबारीका प्रविन बाँस्तोला मृत्यु प्रकरण : घटनाको निश्पक्ष छानविनको मागगर्दैै सरकारी वकिल कार्यालय घेराउ

झापा । मोरङको उर्लाबारीमा शङकास्पद मृत्यु भएका प्रविन बाँस्तोलाको निश्पक्ष छानविनको माग राख्दै मृतकका आफन्तले जिल्ला सरकारी वकिल कार्यालय घेराउ गरेका छन्।
प्रविनको मृत्यु शंकास्पद भएको र घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेकोे भन्दै आफन्तले मंगलबार विराटनगरस्थित जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरका हुन्। आफन्तले आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका थिए। गत पुस ५ गते मृत अवस्थामा फेला परेका उर्लाबारी–५ का ३१ वर्षीय बाँस्तोलाको हत्या भएको आफन्ताको दाबी छ।
प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तले आरोप लगाएका छन्। मृतककी बहिनी सदीक्षा आफै इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन गरेको भेटेपछि अनुसन्धानमाथि आशंका गर्दै परिवार र आफन्त आक्रोषित बनेका हुन्। ‘मिसिलमा राखिएको फोटो नै मेरो दाजुको होइन’ सदीक्षाले भनिन्,‘जुन घरमा मेरो दाइको मृत्यु भएको हो उसको बयान पनि गलत छ। सरकारी वकिल कार्यालयमा गलत बयानसहितका त्रुटि नै त्रुटिले भरिएका फाइलहरु छन्।
तस्विर भुलवस परिवर्तन
गत माघ ४ गते राति साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा बसेका प्रविन भोलिपल्ट बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ओछ्यानमा नै बेहोस अवस्थामा भेटिएका प्रविनलाई उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेको भए पनि उनलाई माघ ५ गते चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककै साथी उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीमाथि अनुसन्धान गरेको थियो। माघ २ गते मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए।
जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले मृतकको तस्विर परिवर्तन भुलवस भएको बताए। ‘एउटा कम्प्युटरमा धेरै घटनाका तस्विरहरु हुन्छन्’ राईले भने, ‘फोटो कम्प्युटरबाट प्रिन्ट आउट गर्दा मिस्टेकले अर्को मृतकको तस्विर प्रिन्ट भएको हो।’ एउटा मृतकको अर्को मृतकसँग तस्विर मिल्न गएको उनको भनाइ छ।
मृतकको पोष्टमाटम मंगलबारे अस्पतालमा नगराई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो। ‘प्रहरीले विशेषरुपमा अनुसन्धान गहन तरिकाले गर्नुपर्छ। गम्भीर विषय छ। यसमा तथ्यहरु हुनुपर्छ प्रश्नहरु उठनसक्छ भनेर नै हामीले पोष्टमाटम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका हौं’ राईले भने, ‘यो विषयमा परिवारको गुनासो जुन तरिकाले आयो जिल्ला प्रहरी कार्यालय गम्भीर बनेको छ।’
प्रवक्ता राईको नेतृत्वमा प्रहरीले अनुसन्धानबारे छानविन गर्न समिति गठन गरेको छ। आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको प्रवक्ता राईको भनाइ छ।
‘घटनाका मिसिल अध्ययन अनुसन्धान भइरहेको छ। प्रवक्ता राईले भने, ‘अनुसन्धानमा प्रहरीले कुनै पनि अभियुक्तलार्ई उन्मुक्ति दिने हिसाबले कसुर कम गराउने हिसाबले अथवा निर्दोषलाई फसाउने हिसाबले बदनियतरुपमा प्रमाण संकलन गरेको विगारेको पाइयो भने त्यस्तो कर्मचारीलाई कारबाही गर्ने कानुनमा व्यवस्था छ। त्यो अनुसन्धान भएपछि टुङगो लाग्छ। थाहाखबरबाट