२०८० मंसीर २० गते , बुधबार

फेवातालको बाँध ४२ वर्षपछि मर्मत, पानी घटेपछि मरे माछा

sajilo news
पार्थ मण्डल
२०७७ माघ २५ गते , आईतबार
फेवातालको बाँध ४२ वर्षपछि मर्मत, पानी घटेपछि मरे माछा

पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ। २०१८ सालमा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो।

सुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्र संघको सहयोगमा पुनःनिर्माण गरिएको थियो। त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको कार्यलय प्रमुख किरण आचार्यले बताए।

‘२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन,’ उनले भने, ‘पहिला संघले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो।’ 

आचार्यका अनुसार ताल सिँचाइ प्रणालीका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। एक करोड बाँध निर्माणका लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि ७९५।७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ। उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ।  

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ। प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ। 

पानी घटेपछि  मरे माछा

बाँध निर्माणका लागि बिनाजानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन्। हर्पन फेवा मत्स्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताए।

‘हामीलाई जानकारी नदिइ बाँध निर्माण सुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो,” उनले भने, ‘यसले  माछाको बासस्थानलाई असर पार्यो।’ उनका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन्। रासस

सम्बन्धित समाचार