२०८३ बैशाख ३ गते , विहीबार
कचनकवलका अग्निपीडित राजवंशी परिवारलाई अपाङ्ग समितिको राहत
झापा । आगलागीमा परी मृत्यु भएका कचनकवल १ घेरावारिका गोवर्द्धन राजवंशीको परिवारलाई दमक अपाङ्ग सहयोग समितिले राहत प्रदान गरेको छ । समितिले आगलागीबाट विस्थापित भएको राजवंशी परिवारलाई दुई वटा सुत्ने खाट , चामल , भुजा , नून तेल लगायतका खाद्य सामग्री प्रदान गरेको हो । आफ्नो रोहवरमा ती सामग्री समितिले हस्तान्तरण गरेको कचनकवल १ का वडाध्यक्ष लक्ष्मीनारायण यादवले बताए ।
कार्यक्रममा समितिका सचिव मदन बोहोरा , सहयोगीहरू पुष्पा सापकोटा काफ्ले , ह्याप्पी नेपालका महासचिव नरेन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । विभिन्न सहयोगीहरूबाट सङ्कलन गरेर ती सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ । शारीरिक रुपमा विकलाङ्ग भएका ६६ वर्षीय राजवंशीको आइतबार राति जलेर मृत्यु भएको थियो । आगलागीबाट उनको घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो ।