झापामा तल्लो रामचन्द्र सिँचाइ नहरको उद्घाटन, कृषक लाभान्वित

झापा । झापाको गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिँचाइ आयोजनाको उद्घाटन भएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले आज नहरको मुहानमा राखिएको रेगुलेटर घुमाई रिबन काटेर उक्त आयोजनाको उद्घाटन गरेका हुन् । २०७५ साल असार २१ गते सुरु भएको आयोजनाको निर्माण कार्य २ वर्षको समयावधिमा सम्पन्न भई आयोजना सुरु भएकोमा मन्त्री कार्कीले निमार्ण व्यवसायी र आम उपभोक्तालाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।
प्रदेश नं. १ भरि यस वर्ष जम्मा ५ को आयोजना सञ्चालनमा आउने र त्यसमध्ये सिँचाइ आयोजनामध्ये रामचन्द्र सिँचाइ पहिलो आयोजना सञ्चालनमा आएको बताउँदै गरिबी निवारणमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री कार्कीले बताए ।
गौरीगंज गाउँपालिका ५ र ६ का करिब ७ बिघा जमिन सिँचाइ हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरूले लाभान्वित हुने उनको भनाई थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन भद्रपुरको आयोजनमा भएको उद्घाटन कार्यक्रममा आयोजनाको ठेक्का लिएका नयाँ बाटो शिवाको साक्षी जेभीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रदेश नं. १ सरकारले छुट्टाएको करसहित ८ करोड ७९ लाख २० हजार रुपैयाँबाट निर्माण भएको उक्त आयोजनाको सम्पूर्ण कार्यहरू सम्झौता अनुसार सम्पन्न भएको हो । नहरको मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको जलस्रोत तथा सिचाई विकास डिभिजन झापाका इन्जिनियर अनिल कुमार महतोले जानकारी गराएका छन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ का सचिव मोहन कुमार शाक्य, ऊर्जा जलस्रोत सिँचाइ महाशाखाका प्रमुख रमेश पौडेल, गेउरिया कृषि सुधार जल उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र धमला, गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गनगाई, उपभोक्ता समितिका सचिव नगेन्द्र डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी गौरादह नगरपालिका वार्ड नं. ६ स्थित हेङ्गा टोली सोलार सिँचाइ योजनाको उद्घाटन भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उक्त योजनाको आज उद्घाटन गरेका हुन । प्रदेश सरकारको २७ लाख रुपैयाँको बजेटबाट सञ्चालन भएको सोलार सिँचाइबाट करिब १० हेक्टर जमिन सिञ्चित हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीले जनाएका छन् ।