२०८३ कार्तिक २६ गते , बुधबार

आजदेखि भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु

sajilo news
झापा
२०८३ कार्तिक १९ गते , बुधबार
आजदेखि भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु

झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि तीनदिने ‘विद्यार्थी महोत्सव’ सुरु भएको छ । भद्रपुर नगरपालिकाले आफ्नो स्थापना भएको ७५औँ वर्ष अर्थात् हीरक महोत्सवको सन्दर्भ पारेर विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले विद्यार्थी महोत्सव आयोजना गरेको हो ।
 ‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ कात्तिक २० गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पोखरेलले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनात्मक क्षमता विकास गर्ने तथा विद्यालयबीच अनुभव र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । 
यस विद्यार्थी महोत्सवले विद्यालयस्तरमा अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मकता, प्रविधि र व्यावहारिक सिकाइलाई प्रोत्साहन गर्ने अपेक्षा राखिएको उनको भनाई छ ।  कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कडेल, शिक्षक महासंघ नगर अध्यक्ष पुरुषोत्तम खरेल, सामाजिक विकास समिति संयोज सीता गुरागाँई लगायतले मन्तव्य राखेका थिए । 
महोत्सवमा पहिलो दिन लोकसांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हेण्डराइटिङ्ग, हाजिरीजवाफ, चेस, कविता, वक्तृत्वकला तथा विभिन्न खेलकुद प्रतियोगिता भएको थियो । महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ वटा विद्यायलले सहभागिता जनाउने नगर शिक्षा प्रमुख पवित्रा ढकालले जानकारी दिइन् । 
महोत्सवको दोस्रो दिन बिहीबार माध्यमिक तहका विद्यार्थीबीच लोकसांस्कृतिक नृत्य प्रतियोगिता हुनेछ । विज्ञान प्रदर्शनीलाई निरन्तरता दिइनेछ भने आधारभूत तथा माध्यमिक तहका विद्यार्थीबीच कविता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ ।
त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सम्बन्धित प्रतिनिधिबीच उत्कृष्ट नतिजा तथा व्यवस्थापन भएका विद्यालयका अभ्यास, सिकाइ अनुभव आदानप्रदान र अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ
यसैगरी, सोही दिन कृत्रिम बौद्धिकता (एआई) को महत्व, उपयोगिता र चुनौती विषयक कार्यशाला आयोजना गरिनेछ । कार्यशालामा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) फोकल पर्सनको सहभागिता रहने शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए ।  महोत्सवको अन्तिम दिन शुक्रबार मेची रंगशालामा लोकसांस्कृतिक नृत्य प्रतियोगिताका अघिल्ला दिन बाँकी रहेका समूहबीच फाइनल राउन्ड सञ्चालन गरिने छ । महोत्सव सञ्चालन गर्न करिब १० लाख रुपैया लाग्ने र सहभागि विद्यार्थीहरुलाई नगरसहित पुरस्कृत गरिने जनाइएको छ । 

सम्बन्धित समाचार