२०८३ कार्तिक २६ गते , बुधबार

शुक्रबारदेखि भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता

sajilo news
पार्थ मण्डल
२०८३ कार्तिक १३ गते , विहीबार
शुक्रबारदेखि भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता

झापा । झापाको भद्रपुरमा भोलिदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलो पटक भद्रपुरमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी बारेमा भद्रपुर नगर हक्की संघले आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। 

भद्रपुर नगरपालिका–९ स्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा भारतका तीन, तीन विभागीय, कोशी, गण्डकी, कर्णाली र आयोजक गरी १० वटा टोलीले सहभागिता जनाउने नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले बताए। भारतको कलकत्ता, आसाम र विहार टिमको सहभागिता रहेको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘बंगलादेशको एउटा टिमले पनि सहभागिता जनाउँथ्यो तर, भिषा प्रक्रियामा समस्या आएकोले अन्तिममा आएर रद्द भयो। ’ 

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रयोजक रहेको प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगिताले हक्की खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा आयोजकले राखेको छ। प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको जनाइएको छ। नगर हक्की संघ र श्री पुहाँतु जनज्योति माविबीच भएको सम्झौताअनुसार विद्यालयको खेलमैदानलाई स्तरोन्नति तथा व्यवस्थित गरी बहुउपयोगी मैदानका रूपमा विकास गरिएको संघका सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए।

विशेषगरी, आदिवासी तथा जनजाति समुदायका युवायुवतीमा लोकप्रिय बन्दै गएको हक्की खेललाई थप प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा राखिएको उनको भनाई छ। हक्की प्रतियोगिताका लागि स्थानीय सरकार भद्रपुर नगरपालिका, कोशी सरकार, नेपाल हक्की संघ लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष श्रीमन नारायण पौडेल लगायतले अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताले यस भद्रपुर नगरलाई खेलकुदको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउन योगदान पुर्‍याउने  अपेक्षा राखिएको बताएका छन्। 

सम्बन्धित समाचार