२०८३ कार्तिक २६ गते , बुधबार

तीन जनाको ज्यान लिने बेकाबू हात्तीका कारण झापामा त्रास, सुरक्षामा खटियो सशस्त्र प्रहरी

sajilo news
पार्थ मण्डल
२०८३ कार्तिक ९ गते , आईतबार
तीन जनाको ज्यान लिने बेकाबू हात्तीका कारण झापामा त्रास, सुरक्षामा खटियो सशस्त्र प्रहरी

झापा । झापाको चारकोशे जलथल जंगलबाट निस्किएका दुईवटा जंगली हात्तीका कारण जंगल आसपासका बस्तीमा जोखिम र त्रास बढेको छ। दुई दिनमै नेपाल र भारतमा गरी तीन जनाको ज्यान लिएका ती हात्तीको सम्भावित आवतजावतलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले सतर्कता बढाएका छन्।

हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै मोबाइल तथा पैदल गस्तीलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले जानकारी दिए।

गत कात्तिक ३ गते महानवमीका दिन एकाबिहानै जंगली हात्तीको आक्रमणबाट जिल्लाको बाह्रदशी गाउँपालिकामा दुई वृद्धवृद्धाको मृत्यु भएपछि स्थानीय बासिन्दा शोक र त्रासमा छन्। बाह्रदशी गाउँपालिका–२, जनता बजारकी ७० वर्षीया लजमा खातुन र सोही वडाको चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीको हात्तीको आक्रमणबाट ज्यान गएको थियो। बिहान करिब ५ बजे 'मर्निङ वाक'मा निस्किएका राजवंशीलाई खाडी गाउँमा दुईवटा हात्तीले आक्रमण गरेका थिए। त्यसको करिब ४० मिनेटपछि बिहान ५:४० बजे घरबाहिर निस्किएकी खातुनमाथि पनि हात्तीले आक्रमण गरेका थिए।

खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा र राजवंशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापामा दुई जनाको ज्यान लिएका ती हात्तीले त्यसको भोलिपल्ट विजयादशमीका दिन छिमेकी मुलुक भारतको किशनगञ्ज जिल्लास्थित बहादुरगञ्ज थाना क्षेत्रको गांगी गाउँमा समेत आतंक मच्चाएका थिए। त्यहाँ हात्तीको आक्रमणबाट अलताबाडी निवासी वृद्ध मोफीज आलमको मृत्यु भएको थियो भने एक बालक गम्भीर घाइते भएका थिए।

नेपाल र भारतमा गरी दुई दिनमै तीन जनाको ज्यान गएपछि सीमावर्ती क्षेत्रका बासिन्दा थप त्रसित बनेका छन्। हात्तीको सम्भावित आवतजावत र आक्रमणबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न दुवै देशका सुरक्षा निकाय तथा वनसम्बद्ध निकायले सतर्कता बढाएका छन्। चारकोशे जलथल जंगलसँग बाह्रदशी, कचनकवल, भद्रपुर र हल्दिबारी गाउँपालिका जोडिएका छन्।

चाडपर्वका बेला सुरक्षामा खटियो सशस्त्र प्रहरी

चाडपर्वका बेला हात्तीबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गरेको छ। सर्वसाधारण दसैँको टीका, जमरा, पारिवारिक भेटघाट र चाडपर्वको उल्लासमा व्यस्त रहेका बेला सशस्त्र प्रहरी कर्मचारीहरू भने आफ्नो पारिवारिक खुसीलाई थाँती राख्दै नागरिकको जिउधनको सुरक्षामा खटिएका छन्।

चाडपर्वको समयमा मानिसको चहलपहल बढ्ने र बिहान-बेलुकाको झिसमिसे तथा रातको समयमा जंगली हात्तीसँग जम्काभेट हुने जोखिम रहने भएकाले सशस्त्र प्रहरीले गाउँगाउँमा पुगेर माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेको छ।

अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले बताए।

पाकेको धानबाली जोगाउने चिन्तासँगै हात्तीको जोखिम सामना गरिरहेका झापावासीलाई हात्तीसँग जम्काभेट भएमा नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ। त्यसैगरी, गाउँघरमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल गर्न र उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिन पनि आग्रह गरिएको छ। विशेष गरी बिहान सबेरै र साँझपख हिँडडुल गर्दा बढी सतर्क रहन जिल्ला प्रशासन कार्यालय झापाले समेत अनुरोध गरेको छ।

मोबाइल र पैदल गस्तीमार्फत निगरानी

हात्तीको आवतजावत र सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुजित विष्टले बताए।

उनका अनुसार हात्तीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसँगै स्थानीय बासिन्दालाई सचेत गराउने कार्यलाई निरन्तरता दिइएको छ। उपलब्ध स्रोतसाधन परिचालन गरी स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणसँग समन्वय तथा सहकार्य गर्दै हात्तीको निगरानी, सूचना आदानप्रदान र जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ छ।

सशस्त्र प्रहरीले घर, गोठ तथा आँगनवरिपरि हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा खुला रूपमा नराख्न र हात्तीले मन पराउने बोटबिरुवा सकेसम्म घरनजिक नरोप्न अनुरोध गरेको छ। त्यस्तै, रातको समयमा घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न पनि आग्रह गरिएको छ। हात्ती गाउँमा प्रवेश गरेको देखेमा नजिक जाने, फोटो खिच्ने, होहल्ला गर्ने वा लखेट्ने प्रयास गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले सुरक्षित दूरी कायम गर्नुपर्छ।

सशस्त्र प्रहरीले हात्ती गाउँमा प्रवेश गरेको देखेमा वा कुनै समस्या परेमा तत्काल सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउन प्रभावित क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार