२०८३ कार्तिक १ गते , शनिबार

एसियन हाइवे निर्माणका कारण बिर्तामोडको सडक अस्तव्यस्त

sajilo news
झापा
२०८३ आश्विन २८ गते , बुधबार
एसियन हाइवे निर्माणका कारण बिर्तामोडको सडक अस्तव्यस्त

नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । दशैँका लागि नयाँ लुगा, खाद्यान्न, घरायसी सामग्री तथा उपहारका सामान खरिद गर्न ग्राहक बजार पुग्न थालेका छन् । तर, झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा यस पटकको दशैँ व्यापार अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरू बताउँछन् । बजारको मुख्य क्षेत्रमा भइरहेको एसियन हाइवे निर्माणका कारण धुलो, हिलो, पार्किङ अभाव र अस्तव्यस्त आवागमनले व्यापार व्यवसाय प्रभावित बनेको व्यवसायीहरूले गुनासो गरेका हुन् ।

दशैँलाई लक्षित गरेर पर्याप्त सामानको जोहो गरेका व्यवसायी ग्राहकको प्रतीक्षामा छन् । चाडपर्वको समयमा विगतका वर्षमा ग्राहकको चाप बढ्ने र कारोबारसमेत उल्लेख्य हुने गरेको भए पनि यस पटक सडक निर्माणका कारण ग्राहकलाई पसलसम्म पुग्नै कठिन भएको उनीहरूको भनाइ छ । बजारमा मानिसको चहलपहल देखिए पनि सहज रूपमा किनमेल गर्ने वातावरण नहुँदा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको व्यवसायीहरू बताउँछन् । बिर्तामोडको मुक्तिचोक आसपासको मुख्य व्यापारिक क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । कतै सडक खनिएको छ, कतै निर्माण सामग्री थुपारिएको छ । वर्षा हुँदा सडक हिलाम्मे बन्ने र घाम लाग्दा धुलो उड्ने समस्याले व्यवसायी, ग्राहक तथा पैदल यात्रीलाई उत्तिकै सास्ती दिएको छ । सडक निर्माणका क्रममा पार्किङको व्यवस्था नहुँदा सवारीसाधन रोक्नसमेत समस्या भएको छ । कतिपय स्थानमा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताले बजारमा किनमेल गर्न आउने ग्राहकलाई थप असहज बनाएको छ ।

व्यवसायीहरूले विकास निर्माणको विरोध नगरेको स्पष्ट पार्दै चाडपर्वको मुख्य व्यापारिक समयमा निर्माण कार्यलाई व्यवस्थित र तीव्र बनाउनुपर्ने माग गरेका छन् । सडक विस्तार भविष्यका लागि आवश्यक भए पनि निर्माणकै क्रममा व्यवसायीको लगानी, ग्राहकको सहजता र सर्वसाधारणको सुरक्षालाई बेवास्ता गर्न नहुने उनीहरूको भनाइ छ । मुक्तिचोकस्थित होटल कोहिनुरका सञ्चालक प्रभाष राजवंशी सडक निर्माणका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउँछन् । उनका अनुसार निर्माण कार्यले पार्किङको समस्या बढाएको छ भने धुलो र धुवाँका कारण होटलको ढोका खोलेर नियमित रूपमा सेवा दिनसमेत अप्ठ्यारो भएको छ ।

धुलो र धुवाँले होटल सञ्चालन गर्नै समस्या भएको छ । पार्किङको व्यवस्था नहुँदा ग्राहकलाई आउन पनि कठिन छ– राजवंशीले भने, निर्माणको काम सुस्त गतिमा भइरहेकाले समस्या लम्बिएको छ । दशैँको समयमा होटल तथा अन्य व्यापारिक प्रतिष्ठानमा ग्राहकको चाप बढ्ने अपेक्षा गरिए पनि सडकको असहज अवस्थाले त्यसमा असर पारेको उनको भनाइ छ । निर्माण कार्य लामो समयसम्म अधुरो रहँदा व्यवसायीले थप आर्थिक भार बेहोर्नुपरेको उनले बताए । त्यस्तै, एभरेस्ट मार्टका प्रज्वल बुढाथोकीले सडकको अवस्था र पार्किङ अभावका कारण पुराना ग्राहकसमेत पसलसम्म आउन नसक्ने अवस्था बनेको बताए । धुलोका कारण पसलमा राखिएका सामान सफा राख्न र प्रदर्शन गर्न कठिन भएको उल्लेख गर्दै उनले निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए । चाडपर्वको समयमा ग्राहकको आकर्षण बढाउन पसल सजाउने, नयाँ सामान राख्ने र विभिन्न तयारी गर्ने गरिए पनि सडकको अवस्थाले त्यसको प्रभावकारिता घटाएको उनको भनाइ छ । ग्राहक सहज रूपमा पसलसम्म पुग्न सक्ने वातावरण नबनेसम्म व्यापारले गति लिन नसक्ने उनले बताए ।

प्रदीप स्टोरका सञ्चालक सञ्जय अग्रवाल पनि निर्माण कार्यको व्यवस्थापन प्रभावकारी नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको बताउँछन् । सडकको अव्यवस्थित अवस्थाले पैदल यात्री र सर्वसाधारणको आवागमनमा समेत कठिनाइ भएको उनको भनाइ छ । चाडपर्वमा व्यापार बढ्ने आशा गरेका थियौँ, तर सडकको अवस्थाले समस्या थपेको छ,अग्रवालले भने–लाखौँ रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यापारीलाई अहिलेको अवस्थाले प्रत्यक्ष असर पारेको छ । निर्माण पक्षले तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्छ । त्यस्तै बस्नेत भेराइटिजका सञ्चालक भूपाल बस्नेतले चाडपर्वको मुखमा सडक भत्काएर लामो समयसम्म अधुरो छाडिएको भन्दै असन्तुष्टि व्यक्त गरे । निर्माण कार्यको समय व्यवस्थापनमा ध्यान दिइएको भए व्यवसायीले अहिलेको जस्तो समस्या भोग्नुपर्ने थिएन भन्ने उनको भनाइ छ । उनका अनुसार सडक निर्माणले व्यापार व्यवसाय प्रभावित बनाएको मात्र होइन, नयाँ लगानी गर्ने वातावरणसमेत कमजोर बनाएको छ । पुराना व्यवसायलाई जोगाउन र बजारको व्यापारिक गतिविधि नियमित राख्न निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने उनले बताए ।

पशुपति मोबाइलका सञ्चालक सुमित बेगानी विकास निर्माण आवश्यक भए पनि स्थानीय अवस्था र व्यवसायीले भोगिरहेका समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँछन् । निर्माण कार्यलाई तीव्रता दिनु सम्बन्धित निर्माण पक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उनले अहिले देखिएको सुस्तताले व्यवसाय सञ्चालनमा असहजता थपेको बताए । त्यसैगरी, गणेश इम्पोरियम होलसेल तथा खुद्रा थान कपडाका विक्रेता हेमन्त अग्रवालले पार्किङ अभाव, घुमाउरो बाटो र ग्राहकको आवागमनमा आएको कमीले कारोबार प्रभावित भएको बताए । न ग्राहक सहज रूपमा आउन सक्ने अवस्था छ, न बाटोको राम्रो सुविधा छ, न पार्किङको व्यवस्था नै छ–अग्रवालले भने–चाडपर्वको मुखमा शुरु गरिएको निर्माण कार्य लामो समयसम्म अधुरो रहँदा व्यवसायी निरुत्साहित भएका छन् । उनले बजारको व्यापारिक वातावरण जोगाउन निर्माण कार्यलाई तीव्रता दिई यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरे । एसियन हाइवे निर्माणसँगै बिर्तामोडको शहरी स्वरूपमा परिवर्तन देखिन थालेको छ ।

बिर्तामोडको पहिचान र आवागमनसँग जोडिएको मुक्ति चोकमा रहेको स्तम्भ हटाइएको छ । सडक विस्तारको योजनाअनुसार चोकको संरचना हटाइएसँगै भविष्यमा सडकको स्वरूप र यातायात व्यवस्थापनमा परिवर्तन आउने अपेक्षा गरिएको छ । मुक्तिचोक बिर्तामोडको प्रमुख व्यापारिक तथा आवागमनको केन्द्र हो । यस क्षेत्रमा रहेका होटल, कपडा पसल, मार्ट, मोबाइल पसल, खुद्रा तथा थोक व्यापारिक प्रतिष्ठानले ठूलो सङ्ख्यामा ग्राहकलाई सेवा दिँदै आएका छन् । त्यसैले यहाँको सडक निर्माणले व्यवसायी मात्र नभई दैनिक किनमेल गर्न आउने ग्राहक, पैदल यात्री र अन्य सर्वसाधारणलाई समेत प्रभावित बनाएको छ । सडक विस्तार सम्पन्न भएपछि यातायात आवागमन सहज हुने, सडकको क्षमता बढ्ने र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । तर, निर्माण कार्य जारी रहँदा तत्कालको व्यवस्थापन प्रभावकारी हुन नसके विकासको लाभ प्राप्त गर्नुअघि नै व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने चिन्ता देखिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको करिब १२० किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत एसियन हाइवे निर्माण अघि बढाइएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भइरहेको आयोजनाअन्तर्गत बिर्तामोडसहित झापाका विभिन्न बजार क्षेत्रमा सडक विस्तार, ढल निकास, फुटपाथ तथा अन्य पूर्वाधार निर्माणका काम भइरहेका छन् । काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका प्रमुख सुनिलबाबु पन्तका अनुसार यो आयोजना पूर्वी नेपालको यातायात पूर्वाधार सुधार गर्ने महत्त्वपूर्ण योजनामध्ये एक हो । सडक स्तरोन्नति सम्पन्न भएपछि यातायात सञ्चालन सहज हुने, व्यापारिक सम्बन्ध विस्तार हुने र क्षेत्रीय आवागमनमा सुधार आउने अपेक्षा गरिएको छ । उनले बिर्तामोड क्षेत्रमा पनि छिट्टै समस्या समाधान हुने बताए । आयोजना प्रमुख पन्तले भने– अहिले बिर्तामोड क्षेत्र अस्तव्यस्त जस्तो देखिए पनि, त्यसको व्यवस्थापनमा निर्माण पक्ष लागेको केही समस्या भए पछि अब केही दिनमा नै समाधान हुन्छ । व्यवसायीहरूले सडक निर्माण तत्काल रोक्नुपर्नेभन्दा पनि कामलाई व्यवस्थित, तीव्र र समयमै सम्पन्न गर्नुपर्ने माग गरेका छन् ।

निर्माण स्थलमा नियमित रूपमा धुलो नियन्त्रण गर्ने, वर्षाको पानी निकासको व्यवस्था मिलाउने, पैदल यात्रीका लागि सुरक्षित बाटो बनाउने तथा पसलसम्म ग्राहक पुग्न सक्ने सहज पहुँच कायम गर्नुपर्ने उनीहरूको माग छ । व्यवसायीको माग प्रति आफूहरू सकारात्मक रहेको भन्दै आयोजना प्रमुख पन्तले उक्त समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए । बजार क्षेत्रमा आवश्यकताअनुसार पार्किङ व्यवस्थापन गर्न र निर्माणका कारण बन्द वा अवरुद्ध भएका बाटोबारे स्पष्ट जानकारी दिनुपर्ने व्यवसायीहरूको माग छ । निर्माण सामग्री जथाभाबी नराख्ने, सडक खण्डलाई लामो समयसम्म खनेर अलपत्र नछाड्ने र काम सम्पन्न भएका स्थानलाई तत्काल प्रयोगयोग्य बनाउने व्यवस्था मिलाउन निर्माण पक्ष लागि परेको जनाइएको छ । दशैँ नेपालीहरूको प्रमुख चाड मात्र होइन, व्यापार व्यवसायका लागि पनि महत्त्वपूर्ण सिजन हो । वर्षभरिका विभिन्न अवसरमध्ये दशैँमा हुने कारोबारले धेरै व्यवसायीको वार्षिक आम्दानीमा महत्त्वपूर्ण योगदान पु¥याउँछ ।

यही समयमा बजारमा सहज पहुँच नहुँदा साना तथा ठूला व्यवसायी सबै प्रभावित हुने गरेका छन् । एसियन हाइवे बिर्तामोडको विकास र भविष्यको यातायात व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो । तर, विकासको प्रतिफल प्राप्त हुन समय लाग्ने भएकाले निर्माणकै चरणमा नागरिकले भोग्नुपरेको सास्ती कम गर्नु आवश्यक छ । सडक निर्माणको कामलाई गति दिँदै धुलो, हिलो, पार्किङ र आवागमनको समस्या समाधान गर्न सके चाडपर्वको व्यापारलाई राहत पुग्ने स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार