२०८३ कार्तिक १ गते , शनिबार

चिया बगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी

sajilo news
इलाम
२०८३ आश्विन २८ गते , बुधबार
चिया बगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी

इलामको माई नगरपालिका क्षेत्रमा रहेका सोक्तिम र चिलिमकोट चिया बगान सञ्चालन गर्दै आएका नेपाल चिया विकास निगम लिमिटेड र साँघाई कम्पनीविरुद्ध उजुरी दिने नगरपालिकाले तयारी गरेको छ।

माई नगरपालिकाका प्रमुख खम्बासिं लिम्बुका अनुसार पटक–पटक सचेत गराउँदा समेत चिया बगान सञ्चालकले अटेर गरेपछि पाँच बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापन पत्र बुझाउन लागिएको हो। त्यसका लागि नगर कार्यपालिकाको निर्णयअनुसार माईवासीको हस्ताक्षर सङ्कलन भइरहेको उनले बताए।

नगरपालिकाले चिया बगानमा प्रतिबन्धित विषादीको प्रयोग, साल तथा साखु जातका रूख कटान, चिया प्रशोधनमा दाउराको प्रयोग, बजार क्षेत्रमा रबरका रूख रोपण, मजदुरलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराइएको तथा स्थानीय कर नतिरेको विषय उठाएको छ। यी विषयले मानव स्वास्थ्य, वातावरण र स्थानीय अर्थतन्त्रमा असर पारेको नगरपालिकाको दाबी छ।

नगरप्रमुख लिम्बुका अनुसार असोज २७, २८ र २९ गते हस्ताक्षर सङ्कलन गरी असोज ३० गते माईवासीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ। ज्ञापन पत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्याको समाधान र आवश्यक कारबाहीका लागि पहल गरिने उनले बताए।

यसैबीच, माई नगर मेयर कप फुटबल प्रतियोगिता–२०८३ सञ्चालन भइरहेका बेला नगरपालिकाले चिलिमकोट चिया बगान हुँदै वैकल्पिक सडक निर्माण गरेको विषयमा नेपाल चिया विकास निगम लिमिटेड र साँघाई कम्पनीले नगरपालिकाविरुद्ध उजुरी दिएको बुझिएको छ। स्रोतका अनुसार सडक निर्माणका क्रममा १ हजार २०० भन्दा बढी चियाका बोट काटिएको आरोप लगाउँदै निगमले २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

चिया बगान व्यवस्थापन, वातावरण संरक्षण, मजदुरको पारिश्रमिक, स्थानीय कर र वैकल्पिक सडक निर्माणका विषयमा नगरपालिका तथा चिया बगान सञ्चालकबीच विवाद बढ्दै गएको छ। यद्यपि, दुवै पक्षका आरोप तथा दाबीको आधिकारिक पुष्टि र सम्बन्धित पक्षको प्रतिक्रिया आउन बाँकी छ।

सम्बन्धित समाचार