२०८३ कार्तिक १ गते , शनिबार

भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै, विजेतालाई दुई लाख पुरस्कार

sajilo news
पार्थ मण्डल
२०८३ आश्विन २५ गते , आईतबार
भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै, विजेतालाई दुई लाख पुरस्कार

झापा । नेपालमै पहिलो पटक झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका-९ स्थित श्री पुहाँतु जनज्योति माविको खेल मैदानमा आगामी कात्तिक १३, १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।  प्रतियोगितामा नेपालका आठ, भारतका तीन र बंगलादेशका एक गरी १२ वटा टोलीले सहभागिता जनाउने भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले जानकारी दिए। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रयोजक रहेको प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रथम पुरस्कार ओम साई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार समाजसेवी भद्रपुर–९ निवासी राजकुमार राईले प्रायोजन गरेका हुन्।

विद्यालयको प्राङ्गणमा लामो समयदेखि सञ्चालन हुँदै आएको हक्की खेललाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हक्की संघका नगर अध्यक्ष बस्नेतले बताए ।  प्रतियोगिताले यस क्षेत्रको हक्की खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको उनको भनाई छ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। स्थानीय तह, स्थानीय उद्योग, कलकारखाना, सामाजिक संघसंस्था तथा खेल प्रेमीबाट स्वैच्छिक सहयोग जुटिरहेको संघका सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए । संघले सदस्य विस्तार तथा प्रतियोगिता सञ्चालनका लागि विभिन्न १० वटा उपसमिति, मूल आयोजक समिति र सल्लाहकार समिति गठन गरेको उनले बताए । विशेषगरी आदिवासी तथा जनजाति समुदायका युवायुवतीमा लोकप्रिय बन्दै गएको हक्की खेललाई थप प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको बताउँदै उनले भने, प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा छ। कोशी प्रदेशको टिम उत्पादन गर्दै आएको यस क्षेत्रको हक्की खेलको इतिहास लामो छ ।

भद्रपुरमा हक्की खेलको सुरुवात भएको करिब दुई दशकपछि यसलाई व्यवस्थित रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । हक्की खेलमार्फत युवायुवतीको शारीरिक स्वास्थ्यमा सुधार, लागूऔषध दुर्व्यसन तथा कुलत न्यूनीकरण र खेलका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्य लिइएको छ। यस क्षेत्रका खेलाडीले राष्ट्रिय टोलीमा समेत उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन् । खेलप्रतिको लगावका कारण सात जनाभन्दा बढी खेलाडी नेपाली सेनामा भर्ना भई त्रिभुवन आर्मी क्लबबाट खेल्ने अवसर प्राप्त गर्न सफल भएका छन् । हाल कोशी प्रदेशका पुरुष तथा महिला हक्की टोलीमा समेत यस क्षेत्रका खेलाडीको उल्लेखनीय सहभागिता रहेको नगर अध्यक्ष बस्नेतको भनाई छ । 

उनका अनुसार भद्रपुर नगर हक्की संघ र श्री पुहाँतु जनज्योति माविबीच भएको सम्झौताअनुसार विद्यालयको खेलमैदानलाई स्तरोन्नति तथा व्यवस्थित गरी बहुउपयोगी मैदानका रूपमा विकास गरिने काम धमाधम भइरहेको छ । यस मैदान बनाउन करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि आइतबार विद्यालयकै एउटा कोठामा सचिवालय सञ्चालनमा ल्याइएको छ । सो सचिवालय भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात् पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख पोखरेलले पछिल्लो समयमा भद्रपुर नगर खेलकुद हबको रुपमा विकास हुँदै आएको छ । मेची रंगशालामा हुने फुटबल, मेची क्याम्पसमा आयोजना हुने क्रिकेट र अहिले सञ्चालन भइरहेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताले यस नगरलाई खेलकुदको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउनसमेत उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा राखिएको उनको भनाई छ ।

यो प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाको पनि साथ सहयोग रहने उनले बताए । त्यस्तै त्यस्तै, नेपाल हक्की संघकी महासचिव सुर्वर्णा श्रेष्ठले नेपालमा यसअघि अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना नभएको बताइन्। भद्रपुरमा आयोजना भइरहेको यस प्रतियोगिताले नेपालमा हक्की खेलको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली हक्कीको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरिन्।

 

सम्बन्धित समाचार