मेचीनगरलाई चौथो सन्थाल नकआउट फुटबलको उपाधि
भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ हात्तीमारामा आयोजित चौथो संस्करणको सन्थाल नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा मेचीनगरको योङ ब्वाइज फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मोरङ कानेपोखरीको जूनतारा फुटबल क्लबलाई ३– गोलअन्तरले पराजित गर्दै मेचीनगरले उपाधिमा कब्जा जमाएको हो ।
च्याम्पियन बनेसँगै मेचीनगरले नगद एक लाख एक हजार पुरस्कारसहित शील्ड हात पार्यो भने जूनताराले नगद ६१ हजार र शील्डमा चित्त बुझायो । एकतर्फीजस्तै देखिएको खेलमा मेचीनगरले उत्कृष्ट खेल प्रदर्शन गर्दै मध्यान्तरअघि नं नै २–० को अग्रता बनाएको थियो भने मध्यान्तरपछि थप १ गाल गर्यो ।
यस्तै, भेट्रान्सतर्फको फाइनलमा भद्रपुर वडा नं ३ ले वडा नं १ लाई ३–गोल अन्तरले नै पराजित गर्यो भने अण्डर–१५ तर्फ हात्तीमारा फुटबल क्लबले बीटी नाइन्टिन ट्रेनिङ सेन्टरलाई पराजित गर्यो । भट्रान्सतर्फ विजेताले नगद १२ हजार पुरस्कार प्राप्त गर्यो भने उपविजेता टिमलाई ८ हजार नगद प्रदान गरियो । अण्डर १५ तर्फ पुरस्कारस्वरुप विजेतालाई १५ केजी चिकन र उपविजेतालाई १० केजी चिकन प्रदान गरियो ।
हात्तीमारा फुटबल क्लबको आयोजनामा सन्थाल समुदायकै अधिकतम खेलाडीको सहभागितामा हात्तीमारा फुटबल मैदानमा आयोजना गरिएको प्रतियोगिताको टिम तथा खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि प्रथम पुरस्कारका सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका सभापति राजकुमार राई, भद्रपुर नगरपालिका वडा नं का वडाध्यक्ष हेमबहादुर कार्की, पुरस्कारहरूका सौजन्यकर्ताहरू कृष्ण खड्का, बिरबल लिम्बू, साहिल, रामकुमार सहनी, आयोजक क्लबका अध्यक्ष माराङ बास्केलगायतले पुरस्कार वितरण गरेका थिए । सञ्चारकर्मी रोहित काफ्लेले सञ्चालन गरेको समापन समारोहमा सरिता किसक’ले सवागत मन्तव्य राखेकी थिइन् प्रमुख अतिथि राई, भने वडा सदस्य भुवमाया थापा मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समापन समारोहमा सन्थाल नृत्य तथा गीत प्रस्तुत गरिएको थियो भने सन्थाली बाजागाजाका साथ शील्ड तथा ट्रफी मैदानमा प्रदर्शन गरिएको थियो । असोज १७ गते प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधान तथा उर्जामन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)–का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए । वडाध्यक्ष कार्कीले प्रतियोगितालाई फुटबल खेलसँग मात्र सीमित नराखी सन्थाल समुदायको धर्म, संस्कृति र कलासँगसमेत जोडिएको बताउँदै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ परिष्कृत ढङ्गले सञ्चालन गरिने जानकारी दिए ।